सिन्धुपाल्चोक | भोटेकोशी नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकका ११ स्थानीय तहबाट कुल २१९ जना बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । यसअघि नै ५ जनालाई मृतक घोषणा गरिसकिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा स्थानीय तहहरूले उपलब्ध गराएको बेपत्ता नागरिकको एकिन विवरण प्रस्तुत गरिएको थियो ।
विवरणअनुसार सबैभन्दा बढी भोटेकोशी गाउँपालिकाबाट ६८ जना र बाह्रबिसे नगरपालिकाबाट ५७ जना बेपत्ता छन् । बलेफीबाट ३०, सुनकोशीबाट १५, चौतारा साँगाचोकगढीबाट १२, जुगलबाट १२, मेलम्चीबाट ८, हेलम्बुबाट ७, त्रिपुरासुन्दरीबाट ६, लिसङ्खुपाखरबाट ३ र इन्द्रावतीबाट सबैभन्दा कम १ जना बेपत्ता छन् ।
पहिले नै मृतक घोषणा गरिएका ५ जनामध्ये भोटेकोशी गाउँपालिकाका २, बाह्रबिसे नगरपालिकाका २ र बलेफी गाउँपालिकाका १ जना छन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकमा मानवीय क्षति, प्रभावित क्षेत्रको अवस्था तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनबारे छलफल भएको थियो । बैठकमा जिल्ला समन्वय समिति प्रमुख, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यालय प्रमुख, विपद् फोकल पर्सन, सुरक्षा प्रमुख र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
बेपत्ता व्यक्तिको विवरण अनुमोदन भएपछि मन्त्रिपरिषद् बैठकबाट उनीहरूलाई मृतक घोषणा गरिनेछ । घोषणापछि प्रति मृतक २ लाख रुपैयाँ उपलब्ध हुनेछ। तर एउटै घरमा एकभन्दा बढी व्यक्तिको मृत्यु भएको अवस्थामा एक जनाको २ लाख र थप प्रत्येक जनाको १ लाखका दरले रकम उपलब्ध हुने निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्