२०८१ श्रावण १२
                           

शैक्षिक सुधार गर्न विद्यालय–विद्यालयमा चौतारा साँगाचोकगढी नगरपालिका जनप्रतिनिधि !

असोज ५ — सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न चौतारा साँगाचोकगढी नगरपालिकामा शिक्षा शाखाका कर्मचारी सहित जनप्रतिनिधि स्कुल–स्कुलमा पुग्न थालेका छन् । बुधबार वडा नम्बर १ मा रहेको रक्त कालिका निम्न माध्यामिक विद्यालयमा पुगेका टोलीलाई गुनासो सुनाउँदै प्रधानध्यापक राजेन्द्र खत्रीले भन्नुभयो, “हामि कहाँ त गरिवहरुका छोरा छोरी मात्र आउछन् । पैसा कमाउने अभिभावकले कि सदरमुकाम कि काठमाडौ लगेर बच्चा पढाउछन । भर्ना भएका विद्यार्थी पनि नियमित विद्यालय आउँदैनन् । ” उप प्रमुख सिता थापाले जवाफ फर्काउनुभयोे, “ कसरी शिक्षालाई उपलव्धी मुलक वनाउन सकिन्छ भनेर खोजी अनुसन्धान गर्नकै लागि हामि आएका हौ । ”


सामुदायिक विद्यालयको गुणस्तर सुधार्न बुधबारनै वडा नम्बर १ को बाङ्बा भैरवी आधारभुत विद्यालयमा पनि अनुगमन गर्न नगरको टोली पुग्यो । कक्षाकोठासम्म पुगेर पढाइबारे विद्यार्थीसँग अन्तरक्रिया ,विद्यार्थी र शिक्षकको उपस्थित भए÷नभएको हाजिरी जाँच भयो । विद्यालयका प्रधानध्यापक राम कुमार खत्रीले सरकारी कार्यक्रम मा.वि विद्यालय केन्द्रित हुदा जग नै बलियो बनाउनुपर्ने प्राथमिक विद्यालय आर्थिक अभावको चपेटामा पर्ने गरेको बताउनुभयो । मंगलबार ३ नम्बर वडाको विद्यालय अनुगमन गर्न पुगेको नगरपालिकाको टोली बुधबार १ नम्बर वडाका विभिन्न विद्यालयमा पुगेको हो । सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न अहिले चौतारा साँगाचोकगढी नगरपालिकाले उपप्रमुखको नेतृत्वमा प्रत्यक सामुदायिक विद्यालयमा पुगेर शिक्षक विद्यार्थीसँग अन्तरक्रिया गर्ने थालेको छ ।

जानकारी विनै मेयर, उपमेयर सहित नगरपालिकाको टीम विद्यालयमा पुग्ने गरेको छ । नगरपालिकाको टीमले कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षणसमेत गर्ने गरेको छ । विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने भएकाले नगर भित्रका ८० वटै विद्यालयमा पुगेर अन्तरक्रिया भैरहेको उपप्रमुख सिता थापाले बताउनुभयो । नगरपालिकाभित्रका प्रायः सामुदायिक विद्यालयहरुमा भवनलगायत भौतिक संरचना पर्याप्त भए पनि कतै दरबन्दी अभाव, कतै शैक्षिक सामग्रीका अभाव, कतै विद्यार्थी अभाव लगायतका समस्या देखिएको उपप्रमुख थापाको भनाई छ ।


विद्यालयको शैक्षिक अवस्था ,फर्निचर , खातापाता, लाइब्रेरी, दैनिक कार्यतालिका ,कार्यविभाजन देखि विद्यार्थीको शैक्षिक उपलब्धीको मुल्याङ्कन लगायतका समग्र अवस्थाको बारेमा जानकारी लिने गरेको नगर शिक्षा शाखाका विद्यालय निरीक्षक गोपाल खड्काले बताउनुभयो । निरीक्षण सकेपछि विद्यालयको अवस्था समेटेर शैक्षिक सुधार गर्न नयाँ योजना र सुझाव समेत शिक्षा शाखाले सम्बन्धीत विद्यालयलाई दिने गरेको छ । सतीदेवी माविका प्रधानाध्यापक शालिकराम वलीले यस्ता निरीक्षणले थप हौसला मिलेको बताउदै शैक्षिक सुधारमा आफुहरु सुध्रिने र आवश्यकताको आधारमा नया कार्यक्रम बनाउन नगरपालिकालाई सहयोग पुग्ने बताउनुभयो ।
विद्यालयहरुमा भौतिक संरचना मात्र भएर नपुग्ने भन्दै शैक्षिक गुणस्तरको मुख्य आधार शैक्षिक क्रियाकलापलाई गुणस्तरीय र उपलब्धी मुलक बनाउन शैक्षिक सुधारका लागि अनुगमन पश्चात ठोस योजना बनाएर कार्यान्वयन गरीने मेयर कृष्ण प्रसाद सापकोटाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्