दिपु गाउँ/ सिन्धुपाल्चोकको जुगल हिमशृंखलामा पर्ने ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलो पटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोहीले शनिबार शिखरमा पुगेर यस हिमालको पहिलो सफल आरोहणको इतिहास बनाएका हुन्।
जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार ड्रिम क्यारियर ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीमार्फत आरोहणमा गएका स्पेनी पर्वतारोही मिकेल जाबाल्जा, मिकेल साएज र रुबेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन्। आरोहण सम्पन्न गरेर उनीहरू दिपु गाउँ आइपुगेको तामाङले जानकारी दिए।
आरोहणका लागि कठिन मानिने जुगल–२ मा यसअघि सफल आरोहण हुन सकेको थिएन। चुनौतीपूर्ण भौगोलिक बनावट र कठिन आरोहण मार्गका कारण यो हिमाल पर्वतारोहीका लागि चुनौतीपूर्ण मानिँदै आएको स्थानीय गाइड लाक्पा शेर्पाले बताए।
तीन स्पेनी आरोहीको सफलताले जुगल हिमशृंखलालाई अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा चिनाउन तथा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सिन्धुपाल्चोकको हिमाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जुगल गाउँपालिकाले यस वर्ष ‘जुगल भ्रमण वर्ष २०८३’ अभियान सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ नारासहित अघि बढाइएको अभियानले हिमाल आरोहण, पदमार्ग विकास, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन र पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ।
भ्रमण वर्षको अवसरमा जुगल हिमशृंखलाका तीनवटा चुचुरो आरोहण गर्ने लक्ष्यसहित तीन समूहका ११ जना आरोही आधारशिविर पुगेका थिए। गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार जुगल–३ आरोहणको तयारीमा रहेको टोली शुक्रबार आधारशिविर पुगेको थियो।
अध्यक्ष स्याङ्बोका अनुसार गाउँपालिकाको लगानीमा सञ्चालित ट्रेकिङ गाइड तालिम प्राप्त दिपु गाउँका लाक्पा शेर्पाको नेतृत्वमा आरोहण अभियान अघि बढिरहेको छ। जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष तामाङले आरोहण टोलीलाई गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको बताए।
प्रतिक्रिया दिनुहोस्