२०८३ कार्तिक १९

नेकपाको राष्ट्रिय जागरण अभियान सुरु, रास्वपा सरकारमाथि युवराज दुलालको कटाक्ष

चौतारा | नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोकमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ । कार्तिक १९ गते चौतारास्थित स्मृति भवनमा नेकपा जिल्ला समिति सिन्धुपाल्चोकको आयोजनामा आयोजित कार्यक्रममार्फत अभियानको उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभाका पूर्वसभामुख तथा नेकपाका केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी थिए । सापकोटाले राष्ट्रिय जागरण अभियान पार्टी संगठनलाई सुदृढ बनाउने, जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने र वर्तमान राजनीतिक परिस्थितिबारे जनतालाई सचेत गराउने उद्देश्यले सञ्चालन गरिएको बताए । उनले जनताका वास्तविक समस्या र आवाजलाई पार्टीले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए । त्यस्तै प्रतिनिधिसभा सदस्य युवराज दुलाल, पूर्वसांसद माधव सापकोटालगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य युवराज दुलालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारको राजनीतिक आधार र कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले वर्तमान सरकारलाई एउटै पार्टी, विचार र सिद्धान्तबाट निर्देशित सरकार नभई फरक राजनीतिक सोच र दृष्टिकोण भएका नेतृत्वबीचको गठबन्धनको संज्ञा दिए ।

दुलालले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचको राजनीतिक सम्बन्धलाई उदाहरण दिँदै सरकारभित्रै नेतृत्व र विचारबीच एकरूपता नरहेको टिप्पणी गरे । एउटै पार्टी र एउटै सिद्धान्तमा आधारित सरकार नभई दुई फरक विचार र राजनीतिक दृष्टिकोण भएका व्यक्तिहरूको सहकार्यमा सरकार बनेको उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री शाहले पार्टी सभापति लामिछानेको कुरा नसुन्ने गरेको दाबी गर्दै प्रधानमन्त्री बन्नका लागि मात्रै रास्वपाको राजनीतिक सहारा लिनुपरेको अवस्था देखिएको टिप्पणी गरे । सरकार सञ्चालनका लागि स्पष्ट राजनीतिक दृष्टिकोण, सिद्धान्तगत प्रतिबद्धता र संस्थागत जिम्मेवारी आवश्यक हुने उल्लेख गर्दै उनले वर्तमान सरकारको राजनीतिक चरित्रमाथि प्रश्न उठाए ।

पूर्वसांसद माधव सापकोटाले पार्टी एकतापछि संगठनलाई व्यवस्थित र संस्थागत बनाउँदै जनतामाझ नयाँ राजनीतिक सन्देश प्रवाह गर्न अभियानले सहयोग पुर्‍याउने धारणा राखे । उनले नेता तथा कार्यकर्तालाई संगठन निर्माणसँगै जनताका दैनिक समस्या र जनजीविकाका सवालमा केन्द्रित हुन आग्रह गरे ।

नेकपाले देशभर सञ्चालन गर्न लागेको राष्ट्रिय जागरण अभियान मंसिर २५ गतेसम्म जारी रहने जनाएको छ । अभियानमार्फत पार्टी संगठन विस्तार, जनतासँग प्रत्यक्ष भेटघाट तथा राजनीतिक र सामाजिक मुद्दामा जनमत निर्माण गर्ने लक्ष्य राखिएको छ ।

अभियान समापनपछि पुस ११ गते देशभरका सबै वडामा अधिवेशन र माघ १५ गते एकै दिन पालिकास्तरीय अधिवेशन गर्ने नेकपाको तयारी छ । त्यसपछि स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशन आयोजना गर्ने पार्टीका नेताहरूले बताउँदै आएका छन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि तदर्थ कमिटीमार्फत पार्टी सञ्चालन हुँदै आएको छ । आगामी अधिवेशन र महाधिवेशनबाट पार्टीलाई पूर्ण रूपमा संस्थागत तथा संगठनात्मक स्वरूप दिने नेकपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्