२०८३ कार्तिक १७

पाँचपोखरी थाङपालमा पहिलोपटक सडक कालोपत्रे सुरु, अध्यक्ष लामाद्वारा शिलान्यास

सिन्धुपाल्चोक | पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो इतिहासमै पहिलोपटक सडक कालोपत्रे गर्ने कामको थालनी गरेको छ । सीमित आन्तरिक आम्दानी र आर्थिक चुनौतीका बीच पनि गाउँपालिकाले आफ्नै स्रोतसाधन परिचालन गरी कालोपत्रेको काम अघि बढाएको हो । गाउँपालिका अध्यक्ष टासी लामाले आज उपाध्यक्ष सुनिता अधिकारी, वडाध्यक्ष, अन्य जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा शिलान्यास गरे । मेलम्ची-तिपेनी-भोताङ सडकखण्डअन्तर्गत गाउँपालिकाको गेट आसपास र गाइपाइले क्षेत्रबाट कालोपत्रे सुरु गरिएको हो ।

अध्यक्ष लामाका अनुसार गाउँपालिकाको आन्तरिक आयस्रोत अत्यन्तै कमजोर छ । विभिन्न निकायबाट सडक कालोपत्रेका लागि पटकपटक आश्वासन मात्र पाइएको तर काम अघि नबढेपछि उपलब्ध स्रोतकै भरमा काम सुरु गर्नुपरेको उनले बताए । सीमित बजेटका बाबजुद सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उनको भनाइ छ । निर्माणको जिम्मा भदौरे गणेश निर्माण सेवाले पाएको छ । निर्माण व्यवसायी राम नेपालका अनुसार कालोपत्रेका लागि २ करोड ८० लाख रुपैयाँमा सम्झौता भएको छ र आगामी चैत महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

गाउँपालिकाका अनुसार पहिलो चरणमा करिब एक किलोमिटर सडक कालोपत्रे गरिनेछ ।  मेलम्ची-तिपेनी-भोताङ सडक पाँचपोखरी थाङपाल गाउँपालिकालाई जिल्ला सदरमुकाम र अन्य क्षेत्रसँग जोड्ने महत्त्वपूर्ण मार्ग हो । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध पाँचपोखरी पुग्ने मुख्य बाटो समेत भएकाले सडक स्तरोन्नति र कालोपत्रेले स्थानीयको दैनिक आवागमन सहज बनाउने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

वर्षौंदेखि सडक स्तरोन्नतिको प्रतीक्षामा रहेका स्थानीयले यो कामलाई पूर्वाधार विकासको सकारात्मक सुरुवातका रूपमा हेरेका छन् । तर, सीमित स्रोत भएको गाउँपालिकाले मात्र यस्तो ठूलो लगानी थेग्न नसक्ने भएकाले संघ र प्रदेश सरकारले पनि आवश्यक बजेट र सहयोग उपलब्ध गराउनुपर्ने अपेक्षा स्थानीयको छ ।

प्रतिक्रिया दिनुहोस्