२०८२ असार ४
                           

नगर गौरवको आयोजना ‘रानीपोखरी’ उद्घाटन

सिर्जना थापा
चौतारा/ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको नगर–गौरवको आयोजनाका रुपमा रहेको रानीपोखरीको उद्घाटन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८, इर्खुमा अवस्थित जिल्लाकै प्रसिद्ध धार्मिक तथा पौराणिक पर्यटकीय स्थल रानीपोखरी मन्दिर तथा पोखरीको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा र निवर्तमान नगरप्रमुख अमानसिंह तामाङले संयुक्त रुपमा रानीपोखरीको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख सापकोटाले बिकासमा आयोजनाको सु–सम्पन्नतामा समग्र सम्पर्क सुत्रहरुको संयोजन हुनुपर्नेमा जोड दिनुभएको छ । रानीपोखरीमा पर्याप्त र उचित पानीको संकलन, संरक्षण, ब्यबस्थापन र बहुउपयोगिताका लागी नगरले छलफल र योजना निर्माणमा जोड दिइने उहाँको भनाई छ ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथि तथा निवर्तमान नगरप्रमुख अमानसिंह तामाङले संघीयताले सदरमुकाम ओझेलमा परेको तर्क गर्नुुभयो । उहाँले नगरपालिका रहेको क्षेत्र सदरमुकाम समेत रहेकाले यहाँको बिकास तथा पर्यटकीय आर्कषक गन्तब्य बनाउनका लागी समेत आफुले आफ्नो कार्यकालमा पहल गरेको समेत बताउनुभयो । बर्तमान नगरप्रतिनिधीलाई नगरका गौरवका आयोजनासंगै अन्य आयोजनाको संचालन र अधुरा कामलाई निरन्तरता दिनुपर्ने कुरामा ध्यानाकर्षण समेत गराउनुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले रानीपोखरी नगरको प्राथमिकताको योजनामा परेको बताउनुभयो । रानीपोखरी पुग्न सडक स्तरोन्नती र सिंढी निर्माणका लागी नगरकार्यपालिकामा पनि छलफल भएको र प्रदेश सरकारसँग समेत समन्वय गरिरहेको थापाले बताउनुभयो । यहाँको आन्तरिक पर्यटन प्रवद्र्धन, हरियाली पर्यापर्यटनमा नगरले बिशेष जोड दिनेमा समेत उहाँले जोड दिनुभयो ।
इर्खु रानीपोखरी संरक्षण मन्दिर निर्माण उपभोक्ता समितीका अध्यक्ष रामकृष्ण दंगालको अध्यक्षता तथा नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता, निवर्तमान नगरप्रमुख अमानसिंह तामाङ र नगर उपप्रमुख सीता थापाको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडाध्यक्ष अमृत बहादुर दंगाल, बिभिन्न संघसंस्थाका प्रतिनिधी, सामाजिक ब्यक्तित्व, युवा, बालबालिका लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो । पोखरी परिसरमा जनैपूर्णिमाको अवसरमा रानपोखरी मेला समेत आयोजना गरिने आयोजक इर्खु रानीपोखरी संरक्षण मन्दिर निर्माण उपभोक्ता समितीका अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिनुभएको छ ।
आर्थिक बर्ष २०७८÷७९ मा नगरपालिकाको रु. ५० लाखको लागतमा उक्त पर्यटकीय स्थलमा रानीपोखरी महादेव मन्दिर र पोखरीको निर्माण गरिएको हो । इर्खु रानीपोखरी संरक्षण मन्दिर निर्माण उपभोक्ता समितीका कोषाध्यक्ष सिर्जना थापाको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सन्तोष दंगालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्