चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले आयोजना गरेको नगर स्तरीय अन्तर माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी कार्यक्रम बुधबार सम्पन्न भएको छ । श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा नगरभरीका २३ माध्यमिक विद्यालयमध्ये केवल ४ विद्यालयहरूले मात्रै आफ्ना सिर्जनात्मक वैज्ञानिक मोडल तथा शैक्षिक सामग्री प्रस्तुत गरेका थिए । अन्य विद्यालयहरूले कम सहभागिता जनाउदा कार्यक्रममा विद्यालयहरूको प्रतिनिधित्व अपेक्षाकृत कम देखियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कृष्णप्रसाद सापकोटा र विशेष अतिथि नगर उपप्रमुख सिता थापाले विद्यार्थीहरूको उत्साह र क्षमताको खुलेर प्रशंसा गर्दै यस्ता कार्यक्रमले सिकाइ, प्रयोग र प्रतिस्पर्धाको संस्कार बढाउने बताएका थिए । उनीहरूले नगरपालिकाले शिक्षामा गुणस्तर वृद्धि गर्न निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

विज्ञान प्रदर्शनीमा श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय प्रथम, सिद्धगणेश माध्यमिक विद्यालय द्वितीय र श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय तृतीय भएर उत्कृष्टतामा छनोट भए । विजयी विद्यालय तथा विद्यार्थीहरूलाई प्रमुख र विशेष अतिथिद्वारा प्रमाणपत्र र नगद राशिसहित सम्मान गरिएको थियो ।
शिक्षा, युवा तथा खेलकुद शाखा, चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा भएको यो प्रदर्शनले विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान क्षमता र सिर्जनात्मकता बढाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्