२०८३ भाद्र ३०

संसद्‌मा रास्वपा सांसदहरूको उपस्थिति दयालाग्दो देखियो : सांसद दुलाल

काठमाडौं । नेकपा सांसद युवराज दुलाल ‘शरद’ले प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको न्यून उपस्थितिप्रति असन्तुष्टि जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दुलालले नयाँ जनादेशसहित संसद्मा आएका सांसदहरूको उपस्थितिको अवस्था अपेक्षाकृत नरहेको टिप्पणी गरे । नयाँ कानुन निर्माण गर्दै मुलुकको विकास र समृद्धिमा योगदान पुर्‍याउने जिम्मेवारी बोकेको संसद्मा सांसदहरूको नियमित उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो ।

दुलालले रास्वपाले प्रतिनिधिसभामा १८३ सांसदको बलियो उपस्थितिसहित संसद्मा प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै मंगलबारको बैठकमा उक्त दलका ३० जना सांसदसमेत उपस्थित नरहेको दाबी गरे ।

संसद्मा सांसदको प्रभावकारी सहभागिता लोकतान्त्रिक अभ्यास र जनप्रतिनिधिको जिम्मेवारीसँग प्रत्यक्ष जोडिएको भन्दै उनले सम्बन्धित दलले आफ्ना सांसदहरूलाई बैठकमा नियमित उपस्थित गराउन सचेत गराउनुपर्ने धारणा राखे ।

‘नयाँ कानुन निर्माण गरेर देश विकास गर्ने संकल्पसहित आएको संसद्मा माननीयहरूको उपस्थिति हेर्दा टिठ लाग्ने अवस्था देखिएको छ,’ दुलालले भने ।

उनले रास्वपाका सांसदहरूको न्यून उपस्थितिलाई गम्भीर रूपमा लिन सरकार तथा सम्बन्धित दलको ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्