२०८३ असार १०

चौतारा साँगाचोकगढीको बजेट १ अर्ब १९ करोड बढी, शिक्षा-स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब १९ करोड ७५ लाख ८१ हजार ७ सय ४४ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको २०औँ नगरसभामा उपप्रमुख सीता थापाले शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिमैत्री सेवालाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गर्नुभएको हो।

चालु आर्थिक वर्ष २०८२र८३ मा नगरपालिकाले १ अर्ब १६ करोड २८ लाख रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षका लागि प्रस्तुत बजेट अघिल्लो वर्षको तुलनामा वृद्धि गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार सुकुटे पर्यटकीय क्षेत्र विकास कार्यक्रम तथा सुख्खाग्रस्त क्षेत्र कार्यक्रमका लागि समान रूपमा ४३ लाख ५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ। साथै, स्वास्थ्य बीमा, मृतक परिवार सहायता तथा शहीद परिवार सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको छ।

नगरपालिकाले १४ वटै वडामा सञ्चालन हुने योजनाका लागि ११ करोड ९० लाख रुपैयाँ छुट्याएको छ। यस्तै, स्वास्थ्य क्षेत्रका लागि १ करोड ८२ लाख रुपैयाँ, कृषि क्षेत्रका लागि १ करोड ८२ लाख रुपैयाँ तथा शिक्षा, युवा तथा खेलकुद क्षेत्रका लागि ५ करोड १७ लाख १५ हजार ७ सय ४४ रुपैयाँ बजेट विनियोजन गरिएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने र दिगो पूर्वाधार विकासलाई गति दिने लक्ष्य लिएको जनाएको छ।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्