२०८३ भाद्र ३०

उत्सवको मञ्चमा शोकको स्वर, गीतमा भोटेकोसी पीडा

कसैको हात छैन, कसैको खुट्टा
यो संसार मेरो भन्नु सबै रैछ झुट्ठा
जिउँदो भेट्ने आश गुम्यो, लाश पनि छैन
लाशको फोटो सबै हेरें, आफ्ना मान्छे हैन…।

यी शब्दहरू केवल गीतका हरफ थिएनन् । ती भोटेकोसीको बाढीले बगाएर लगेको सपना, छुट्टिएको परिवार र अनन्त प्रतीक्षामा बसेका आँखाहरूको पीडा थिए । गीत गुञ्जिँदै जाँदा चौताराको वातावरण एकाएक स्तब्ध बन्यो । कसैको आँखाबाट आँसु झर्‍यो, कसैको गाला अवरुद्ध भयो । गत वर्षझैँ तीजको रौनकमा रमाउन, गीत गाउन र कम्मर मर्काएर नाच्न जम्मा भएका महिलाहरू पनि ती शब्दसँगै भावनाको गहिराइमा डुबे अनि स्तव्ध बने ।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज– खुसी, उल्लास, भेटघाट र रंगीन पहिरनको पर्व हो । तर यस वर्ष चौताराको तीजमा रङहरू त थिए, गहना र रातो सारीहरू पनि थिए, तर गीतमा उत्साहभन्दा बढी पीडा थियो । मुस्कानभित्र दबिएका आँसु थिए । नाच्ने खुट्टा पनि केही क्षण रोकिएका थिए, किनकि भोटेकोसी बाढीले दिएको घाउ अझै ताजा थियो ।

गत वर्षझैँ रमाइला, तडकभडक र मनोरञ्जनका गीत गाउन मञ्चमा उक्लिएका स्थानीय कलाकारहरूले यसपटक फरक स्वर रोजे । फरक शव्द छाने । उनीहरूले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गीतमार्फत श्रद्धाञ्जली अर्पण गरे । बेपत्ता आफ्ना आफन्तको प्रतीक्षामा रहेका परिवारको व्यथा गाए । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । अनि आफ्नै अवरुद्ध गलाबाट भोटेकोसी बाढीले छोडेको पीडालाई आफ्ना मलिन स्वरमा गाए ।

सोमबार हरितालिका तीजको अवसरमा सिन्धुपाल्चोकको चौतारामा आयोजित सांस्कृतिक कार्यक्रममा अधिकांश संस्कृतिकर्मीहरूको स्वर दिनभरि भोटेकोसी बाढीको वितण्डा, त्यसले निम्त्याएको विनाश र मानवीय पीडाको वरिपरि घुमिरह्यो । शोकाकुल परिवारजनलाई संगीतमार्फत समवेदना प्रकट गर्दै उनीहरूले शब्द–शब्दमा आँसु पोखिरहे ।

ती गीतमा पीडा मात्र थिएन । समवेदना मात्र पनि थिएन । त्यहाँ आक्रोश पनि मुखरित भएको थियो । त्यो आक्रोश, जसले विपत्तिको समयमा समेत मानवताको मर्यादा भुल्नेहरूलाई प्रश्न गरिरहेको थियो । लाशमाथि पनि लोभको नजर लगाउने, मृत शरीरको कानबाट सुन लुछ्ने कथित मानिसहरूको अमानवीय व्यवहारप्रति कलाकारहरूको स्वर तीखो बन्यो । त्यसैले उनीहरू गाउँदै थिए—

मनमा हरि नहुनेले लाशमाथि समाए
हारगुहार गर्नुभन्दा गहना समाए…।

गीतको यो व्यङ्ग्यले उपस्थित जनसमुदायलाई झस्कायो । एकातिर उद्धार र राहतका लागि सिंगो मुलुक पीडाको एउटै धुनमा एकताबद्ध भइरहेको बेला, अर्कोतिर विपत्तिमाथि पनि स्वार्थको रोटी सेक्ने प्रवृत्तिले मानवताको अनुहारमा लागेको दागलाई कलाकारहरूले संगीतमार्फत उजागर गरे । तर पीडा र आक्रोशको गीतमै कार्यक्रम सीमित रहेन । कलाकारहरूले दुःखको अँध्यारोबीच आशाको दियो पनि बाल्न चाहे । उनीहरूले विगतका त्रासदीबाट पाठ सिक्न, प्रकृतिप्रति सचेत हुन, मानवता जोगाउन र यस्ता दुर्गतिहरू फेरि देशले भोग्न नपरोस् भन्ने कामना गरे र मञ्चबाट फेरि प्रार्थनाको समवेत स्वर उठ्यो—

अब उठौँ, गरेर चिन्तन
हामी सबैले बुझाऔँ है यो मन
हे पशुपति, अति भो क्षति
अब फेरि नहोस् यो दुर्गति..।

पक्कै पनि यी शब्दसँगै तीजको सांस्कृतिक कार्यक्रम केवल मनोरञ्जनको उत्सव रहेन ।  शोकको साझा चौतारी बन्यो । पीडितप्रतिको श्रद्धा बन्यो । बेपत्ताहरूको प्रतीक्षामा बसेका परिवारप्रतिको समवेदना बन्यो । र, विपत्तिका बेला मानिसले मानिसको हात समाउनुपर्छ भन्ने मानवताको सन्देश बन्यो ।

राष्ट्रिय संगीतकर्मी संघ, चौतारा तथा सामुदायिक प्रहरी र विकास सेवा केन्द्र, चौताराको संयुक्त आयोजनामा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी क्षेत्रभित्र क्रियाशील सांस्कृतिककर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । कलाकारहरूले गीतमार्फत केवल प्रस्तुति दिएनन्, उनीहरूले पीडामा मलम लगाउने प्रयास गरे । आफ्नो स्वरलाई शोकमा डुबेका परिवारको साथ बनाए अनि शोकलाई शक्तिमा बदल्न अभिप्रेरित गरे ।
र, अन्ततः आँसु पुछ्दै, पीडालाई मनभित्र समेट्दै र एकअर्काको हात समाउँदै चौताराले मानौँ यही सन्देश दियो – फेरि तीज आउनेछ, फेरि मादल बज्नेछ, फेरि यी आँगनमा हाँसो गुञ्जिनेछ । तर त्यसका लागि आज हामीले दुःखमा परेकाहरूको हात समाउनुपर्छ, पीडितको घाउमा मलम लगाउनुपर्छ र हराएको मानवतालाई फेरि आफ्नै मनमा फर्काउनुपर्छ ।

जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्