चौतारा/ चौतारा साँगाचोकगढी नगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न लक्षित समुदाय तथा ‘ख’, ‘ग’ र ‘घ’ वर्गका अपांगता भएको नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ।
नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नगरसभाको निर्णयअनुसार शहीद तथा बेपत्ता परिवार, जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्गता भएका व्यक्ति तथा अन्य तोकिएका लक्षित समुदायका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गराउन लागिएको हो।
नगरपालिकाले अपाङ्गता भएका व्यक्तितर्फ ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा पर्ने नागरिक, दलित समुदाय, दीर्घरोगी तथा ६० देखि ७० वर्षसम्मका ज्येष्ठ नागरिक यस कार्यक्रममा समेटिएका छन्।
त्यस्तै, मृगौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका व्यक्तिका परिवारलाई पनि निःशुल्क स्वास्थ्य बिमा गरिने सूचनामा उल्लेख छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा माझी, दनुवार र पहरी समुदायका घरपरिवारलाई समेत कार्यक्रममा समेटिएको छ।
नगरपालिकाका अनुसार लक्षित लाभग्राहीले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालय वा बिमाकर्तालाई सम्पर्क गरी स्वास्थ्य बिमा गराउन सक्नेछन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेद्वारा जारी सूचनामार्फत सम्बन्धित लाभग्राहीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्