सिन्धुपाल्चोक | ‘सफा समाज, हाम्रो पहिचान : सानो प्रयास, ठूलो परिवर्तन’ भन्ने नाराका साथ चौतारा साँगाचोकगढी नगरपालिका–५, चौतारामा वृहत् सरसफाइ तथा जनचेतनामूलक अभियान आयोजना गरिएको छ ।
महाराजगञ्ज नर्सिङ क्याम्पस, काठमाडौंका बीएस्सी नर्सिङ १९औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा मंसिर १३ गते बिहान सञ्चालन गरिएको अभियानमा नगरपालिका, वडा नं ५ को कार्यालय, भिन्तुना नेवा आमा समूह, म्हसिका पुचः तथा महिला मैत्री समाज विकास संस्थाको सहकार्य रहेको छ ।
फिल्ड तालिमका लागि चौतारा आएका नर्सिङ विद्यार्थीहरूले समुदायमा सरसफाइको महत्त्व, व्यक्तिगत तथा सार्वजनिक स्वास्थ्य र वातावरणीय स्वच्छताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान आयोजना गरेका हुन् ।
वडा अध्यक्ष शिव श्रेष्ठले फिल्ड तालिमका लागि आएका विद्यार्थीहरूले अध्ययनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरसफाइ अभियान सञ्चालन गर्नु सकारात्मक कार्य भएको बताए । उनले यस्ता अभियानले समुदायमा स्वास्थ्य तथा सरसफाइप्रति नागरिकको चेतना र जिम्मेवारी बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै स्वच्छ र स्वस्थ समाज निर्माणका लागि स्थानीय सरकार, विद्यार्थी र समुदायबीचको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
सरसफाइलाई एकदिने अभियानमा मात्र सीमित नराखी दैनिक जीवनशैलीसँग जोड्न आवश्यक छ । विद्यार्थी, स्थानीय सरकार र सामाजिक संघसंस्थाबीचको यस्तो सहकार्यले स्वच्छ, स्वस्थ र सभ्य समाज निर्माणमा सकारात्मक योगदान पुर्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्