मेलम्ची/ सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा बालविवाह रोकथाम तथा न्यूनीकरणसम्बन्धी साझा नीति कार्यान्वयन गर्ने प्रतिबद्धतासहित मेलम्चीमा सुझाव संकलन तथा नीति पारित कार्यक्रम सम्पन्न भएको छ।
मेलम्ची नगरपालिकाको आयोजना तथा महिला आत्मनिर्भरता केन्द्र (मांक) र फेयरमेडको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो। जिल्लाका १२ वटै स्थानीय तहको समन्वयमा आयोजित कार्यक्रममा स्थानीय तहका उपप्रमुख, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।
मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालविवाहका कारण, यसले बालबालिका तथा समाजमा पार्ने असर, रोकथामका चुनौती र न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूबाट प्राप्त सुझावका आधारमा बालविवाह रोकथाम तथा न्यूनीकरणसम्बन्धी नीति पारित गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बालविवाह अन्त्यका लागि स्थानीय तहबीच समन्वय र सहकार्य बढाउने, समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने, विद्यालय तथा अभिभावकको भूमिका सशक्त बनाउने र बालविवाहविरुद्धका अभियानलाई निरन्तरता दिने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा ग्लोबल फेयरमेडकी एड्भाइजर निर्मला शर्मा, मांककी अध्यक्ष सञ्चमाया स्याङ्बो, फेयरमेडका टिम लिडर डम्बर सिं गुरुङ, उषा थापालगायत संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण मांकका कार्यक्रम व्यवस्थापक कृष्णबहादुर गुरुङ र सहजकर्ता हर्क तामाङले गरेका थिए।
कार्यक्रमको समापनसँगै बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि ‘मेलम्ची प्रतिबद्धता’ जारी गरिएको छ। प्रतिबद्धतापत्रमा पारित नीतिलाई २०८३ सालभित्र जिल्लाका सबै स्थानीय तहका गाउँ तथा नगरसभाबाट अनुमोदन गराउने उल्लेख छ।
नीति कार्यान्वयनका लागि आवश्यक संरचना र स्रोत व्यवस्थापन गर्ने, वार्षिक नीति तथा कार्यक्रम र नियमित बजेटमा समेट्ने तथा उद्देश्य मिल्ने सहयोगी निकायको पहिचान र परिचालन गर्ने प्रतिबद्धता पनि गरिएको छ। त्यस्तै, नीतिलाई स्थानीय तहका अन्य नीति तथा विद्यमान कानुनी व्यवस्थासँग सामञ्जस्य कायम गर्ने र बाझिएका प्रावधान संशोधन गरी एकरूपता ल्याउने उल्लेख छ।
प्रतिबद्धतापत्रमा बालविवाहलाई पूर्ण रूपमा अस्वीकार गर्ने, विवाह समारोहमा सहभागी हुनुअघि उमेर यकिन गर्ने र २० वर्ष नपुगी हुने विवाहमा सहभागी नहुने उल्लेख गरिएको छ। बालविवाह हुने कार्यक्रममा जनप्रतिनिधि, धार्मिक अगुवा, गुरु, पुरोहित तथा राष्ट्रसेवक कर्मचारीसमेत उपस्थित नहुने प्रतिबद्धता जनाइएको छ।
त्यस्तै, स्थानीय तहभित्र हुने विवाहको नियमित अनुगमन, अभिलेखीकरण तथा वार्षिक प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता गरिएको छ। बालविवाह अन्त्यका लागि स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, विद्यालय, अभिभावक र समुदायबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउँदै साझा जिम्मेवारीका साथ अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस्