२०८२ चैत्र ३०

चीन सरकारको अनुदानमा इको पहिरो नियन्त्रण गरिने

रामकृष्ण थापा, नयाँपत्रिका | ११ वर्षदेखि गाउँलाई जोखिममा पारेर बगिरहेको इको पहिरो नियन्त्रण गर्न चीन सरकारले सहायता प्रदान गर्ने भएको छ । चिनियाँ सरकारको अनुदानमा पहिरो नियन्त्रणको काम केही दिनपछि सुरु हुने निश्चित भएको हो ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण भण्डारीले नेपाल–चीन अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनिकोको कोदारीस्थित इको क्षेत्रमा पहिरो नियन्त्रण गर्न चिनियाँ अनुदान प्राप्त भएको बताए ।

इको पहिरोमाथि १७५ घरपरिवारको बसोबास छ । पहिरोमुनि भोटेकोशी नदीले बर्सेनि कटान गर्छ । गाउँ जोगाएर पहिरो नियन्त्रण गर्न कठिन छ । नाका सधैँ सञ्चालनमा रहे पनि पहिरोका कारण बर्खाभर कोदारी राजमार्ग बन्द हुने गरेको छ । गत बर्खामा करिब तीन महिना सडक बन्द भएपछि स्थानीले पहिरोमै बसेर सडक बन्द गरेका थिए । स्थानीयको माग सम्बोधन गर्न डिभिजन प्रमुख भण्डारी पहिरो प्रभावित क्षेत्र पुगेका थिए ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन, पूर्वसांसद माधव सापकोटा, भोटेकोशी गाउँपालिका– २ का वडाध्यक्ष कुमार श्रेष्ठ, सडक डिभिजन र सरोकारवाला निकायले इको पहिरो नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयमा बजेट माग गरेका थिए ।

मन्त्रालयबाट विनियोजित ४८ करोड ४९ लाख बजेटमा सडक डिभिजन कार्यालय चरिकोटले पहिरो नियन्त्रणका लागि ठेक्का लगाएर धमाधम काम भइरहेको थियो । ‘बर्खाअघि नै पहिरो नियन्त्रण गर्ने गरी हामीले ठेक्का लगाएर काम गरिरहेका छौंँ,’ भण्डारीले भने, ‘तर, अहिले नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट पत्र प्राप्त भएपछि काम रोकेका छौँ ।’ परराष्ट्रले पठाएको पत्रमा इको पहिरो नियन्त्रण चिनियाँ अनुदानमा गरिन लागेको उल्लेख छ । परराष्ट्रले सीमा क्षेत्र भएकोले इको पहिरो नियन्त्रण गर्न चीन सरकारलाई धेरैपटक पत्रमार्फत अनुरोध गरेको थियो ।

सरकारको पत्रलाई अन्ततः चीन सरकारले सकारात्मक जवाफ पठाएको हो । इको पहिरो क्षेत्रमा चिनियाँ टोली आएर स्थलगत अवलोकन गरेका छन् । चिनियाँहरूले ड्रोनबाट पहिरो क्षेत्रको अवस्थाबारे जानकारी लिएको भण्डारीले बताए ।
पहिरो नियन्त्रण गर्न भोटेकोशी नदीबाट पक्की पिल्लर र वाल उठाएर सडकसम्म ल्याउने काम जारी थियो । नेपाली ठेकेदारले गरेको हालसम्मको प्रगतिलाई मूल्यांकन गरेर भुक्तानी दिने र चिनियाँ ठेकेदार कम्पनीले नयाँ कामको सुरुवात गर्ने योजना रहेको उनले सुनाए । ‘सबै कुरा स्पष्ट आइसकेको त छैन । तर, काम चिनियाँ ग्रान्टमा हुने निश्चित भएको छ,’ भण्डारीले प्रस्ट्याए ।

स्थानीयवासीको आवास बचाएर काम गर्नुपर्ने भएकाले चिनियाँ पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सीमाक्षेत्रका वडाध्यक्ष कुमार श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय नाका भएकाले बर्खाअघि नै पहिरो नियन्त्रण गर्न नसके आयात–निर्यात र पर्यटन क्षेत्र प्रभावित हुने उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्