२०८१ श्रावण १२
                           

आरनलाई प्रविधिमैत्री बनाउन जुगलले दियो आधुनिक औजार

२१ जेठ, सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग गरेको छ। आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले विभिन्न आधुनिक औजार सहयोग गरेको हो।

गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्तिलाई यसको सुधार गर्दै प्रविधिमैत्री बनाउन तथा व्यवसाय प्रवर्द्धनका लागि विभिन्न सामग्री सहयोग गरेको हो। गाउँपालिका भित्र रहेर परम्परागतरुपमा आरन व्यवसाय गर्दै आएका ५३ जनालाई उनीहरूको पेसा थप व्यवस्थित बनाउन आवश्यक औजार सहयोग गरिएको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताए।

आरन व्यवसाय संकटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जीविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायलाई थप व्यवस्थित बनाउँदै यसमा आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखी सहयोग प्रदान गरेको अध्यक्ष स्याङबोले बताए।

आरन सुधार कार्यक्रमअन्तर्गत हावा दिने , कटिङ , वाईलिङ मेसिन लगायतका सामग्री प्रदान गरिएको हो।’गाउँघरमा अझै पनि आरन व्यवसायबाटै गुजारा चलाउने धेरै हुनुहुन्छ, यो पेसा व्यवस्थित बनाउँदै लैजाने, पेसा नै संकटमा पर्ने अवस्था रोक्ने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखेको र सोहीअनुसार सहयोग गरिएको हो’, अध्यक्ष स्याङबोले भने।आधुनिक औजारले कम श्रममा बढी आम्दानी लिन साथै गुणस्तरीय उत्पादनमा समेत सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्