२०८० मंसिर २२

जनप्रतिवद्ध कवि केवलपुरे किसान

मोहन दुवाल, वरिष्ठ साहित्यकार

साहित्य प्रष्ट हुनु नै पर्छ जनता जगाउने
कसरी होला यो देशबाट भाइमारा भगाउने ।
उपरोक्त कविताका हरफहरु नै आफ्नो साहित्यिक परिभाषा भन्न रुचाउने कवि केवलपुरे किसानले जन्मेपछि केही गर्नुपर्छ, अझ स्पष्ट भनौं, देश र जनताका लागि केही दिनुपर्छ भन्ने गर्दछन् । जनताका लागि लेख्ने र जनभाषामा लेख्ने साहित्यकारहरु मनपराउने यिनले फूलको रङ्ग मनपर्छ र भोक लागेको बेलामा खाना रुच्छ भनी नयाँ ढङ्गको विचार सुनाउने गर्छन् । दुइटा छोराहरु कमल र विमल तथा दुइटी छोरीहरु उमा आचार्य र गोमा अधिकारीलाई हुर्काएर जीवनपथमा लम्काएर आफ्नी मनपरेकी जीवनसँगिनी सावित्रीले छोडेर गएपछि विह्वल भएका कवि किसानले उनीप्रतिको आफ्नो भावनालाई आँसुको पोखरी शोककाव्यमा अनुभूति पोखेका छन् । उनी आफ्नोबारे पनि कवितामा यसरी नै लेख्ने गर्छन् ः
म कवि होइन केही जानेको छैन
लन्ठ्याउनुछ अलि अलि
ऐनाको पारो, कवि बन्न गाह्रो
गर्दैछु है दलेली ।
भनी आफ्नो कवित्वबारे साधारण रुपमा मात्र परिचय गराउन रुचाउने कवि किसानले साहित्य झुपडीहरुलाई हेर्ने चस्मा हो । जनताका समस्याहरु, सुख–दुःखका मर्महरु साहित्यमा आउनुपर्छ, जनताका व्यथाहरु समेटेर सरल भाषामा लेखिएको साहित्यलाई म उत्कृष्ट साहित्य ठान्दछु । साहित्यकारहरु जनताप्रति उत्तरदायी हुनैपर्छ साहित्यमा यस्तो अभिमत कविताकै माध्यमबाट उनले व्यक्त गरेको पाइन्छ ।
सादा जीवन उच्च विचारका धनी कवि केवलपुरे किसान देख्दैमा अति सरल, सामान्य स्वभावका व्यक्तित्वका रुपमा चिरपरिचित छन् । कवितामा नै धाराप्रवाह विचार स्फुरण गर्नसक्ने सही भावना र चोखो चेतनाका सचेत कवि किसानले जनताकै मर्म र व्यथामा सहानुभूति पोखेर थुप्रै कविताहरु पोखेका छन्, त्यसैले उनी जनताकै पक्षमा, जनताकै भावनालाई समेटेर आफ्नो कवितामा मार्मिक ढङ्गले विचार सम्प्रेषण गर्न खोज्ने चेतनशील कविका रुपमा प्रगतिशील समाजमा प्रख्यात छन् । देशलाई दुख्दा देशभक्त भएर, जनताको मन दुख्दा क्रान्तिकारी उत्सर्गहरु मनमा र आँखामा राखेर कविताका हरफहरु गुनगुनाइरहन सक्षम प्रतिभाशाली देशभक्त कविकै नाम हुन् – केवलपुरे किसान अर्थात् देवीप्रसाद पौडेल ।
यिनै केवलपुरेले पौडेल बाजे भइकन पनि हलो काँधमा राखी किसानकै सिङ्गो रुपमा आफूलाई पहिचान गराउन कसैसँग नडग्ने देवीप्रसाद पौडेललाई केवलपुरे किसानका रुपमा परिचय गराउन पाएपछि हुरुक्कै हुने कवि किसानले कवितामा सरल ढङ्गले आफ्नो परिचय यसरी दिएका छन् ः
लामीडाँडा केवलपुरमा पर्छ मेरो घर
जात चाहिँ के भनौं खै पौडेल हो थर
जिल्ला मेरो धादिङ हो पश्चिम एक नम्बर
जग्गा छैन ऐले पनि बोल्न कहाँ हुन्छ र ?
यस्तै खालकै भावनामा अनुभूत भई हुर्केका कवि किसानले चार वर्षको छँदा बुबाको अकस्मात मृत्यु भएको पीडा र नौ वर्षको हुँदा आमाको देहावसानले पु¥याएको चोट पनि भोगेको देखिन्छ । जेठाबाका घरमै बसी हुर्केका यिनले धेरै दुःख–कष्ट भोगेर घरमा नै कर्मकाण्डको र पछि गाउँकै भाषा पाठशालामा वेद, कौमुदी, हितोपदेश एवम् पञ्चतन्त्रको अध्ययन गरी आफूलाई ज्ञानको भोकबाट मुक्त गर्ने कार्यमा लागेको देखिन्छ । यसरी लड्दैपड्दै वि.सं. १९९७ सम्म नै आफ्नै गाउँ–घरमा दुःख–कहरका दिन र रातहरु यिनले गुजारेको देखिन्छ । पछिमात्र यिनी १५ वर्षको छँदा रानीपोखरी संस्कृत प्रधान पाठशालामा भर्ना भएर काठमाडौंबाट नै वि.सं. २००० मा प्रथम परीक्षा उत्तीर्ण गरेका हुन् । पूर्व मध्यमासम्मको परीक्षा निकै कष्टसाध्य ढङ्गले जीवन गुजारेर उत्तीर्ण गरेको देखिन्छ ।
वि.सं. २००४ सालको जयतु संस्कृतम् आन्दोलनमा सक्रिय सहभागिता जनाएबापत् भूमिगत बस्न बनारस पुग्न बाध्य कवि किसानले २००५ सालतिर युगवाणी पत्रिकामा कविता छपाएर कविता यात्रामा देखापरेका हुन् । २००५ सालदेखि हालसम्म पनि कविता लेखनमा सक्रिय कवि किसानले वि.सं. २००८ सालदेखि नै जनताकै पक्षमा, देशकै दर्दमा आफ्ना कविताका हरफहरु लिएर देखापरेका हुन् । भन्नलाई बाँकी नराख्ने, स्पष्टवक्ताका रुपमा प्रख्यात कवि किसानले कविताकै माध्यमबाट जनताका ढुकढुकीहरु प्रभावकारी ढङ्गले गुनगुनाएर गएका छन् । जनताकै भाषामा, जनताकै बोली र विचारमा आफूलाई समाहित गरेर जनताकै लागि भनेर कविताका पङ्क्तिहरु कोर्न र सुनाउन रुचाउने कविले सत्ताधारीहरु अर्थात् शासकहरुलगायत एक मुठ्ठी चुसाहा वर्गलाई जनताको कोटीमा कहिल्यै राख्न रुचाएनन् । उनको परिभाषामा जनताको परिचय हो – बहुसंख्यक शोषित पीडित जनताहरु ।
प्रगतिवादी चिन्तन वाक्यमा घोली कवितात्मक अनुभूतिमा संप्रेषण गर्न सिपालु कवि किसानले झ्याउरे लय÷छन्दमा सजिलो भाषामा लोकलयलाई टिपेर जनजीवनका दुःख र पीडाहरुलाई कवितामा पोख्न सिपालु भएकै कारणले पनि सर्वसाधारण जनमनले उनलाई रुचाएका छन् । हालसम्म यिनका प्रकाशित पुस्तकहरुमा बाघ आयो (२००९), नेपाल नछो (२०१०), समातेर पछार (२०१२), छिःछिः (२०१५), संघर्षको ठीक गर (२०१६), केवलपुरे किसानका गीत र कविताहरु (२०४५), बोको खस्यो (२०५०), शङ्कै शङ्का (२०५४), आँसुको पोखरी (२०५८), शोकले कविता जन्मायो (२०६१) कविता सङ्ग्रहहरु प्रकाशित छन् । लामो समयदेखि कविता लेख्दै आएका कवि किसानले कवितामा नै आफ्ना सबै प्रकारका भावनाहरु पोखेका छन् । सरल भाषामा वास्तविक तथ्य र सत्यलाई उजागर गर्न सक्षम यी कविले प्रजातन्त्रको अस्वाभाविकपनलाई खिस्याएका छन् । जनताकै नेता भनिने नेताहरुले गरेका कुकृत्य र नकच्चरोपनलाई इङ्गित गरेर कवितामा नै उनीहरुप्रति तीखो व्यङ्ग्यवाण प्रयोग गरेका छन् । त्यसैले उनलाई कसैकसैले सरलताका धनी कवि, कसैकसैले जनताका कवि भनेका छन् भने कसैले बहुसंख्यक जनमनकै पक्षमा जागरणका हुटहुटी उराल्ने कवि भनेका छन् । साँच्चै भन्ने हो भने कवि किसानले कवितामार्फत् आफ्ना क्रान्तिकारी भावना राणाशाहीको विरुद्धमा मात्र उरालेनन्, पञ्चायती फाशिष्ट शासनका विरुद्धमा, जन आन्दोलनको समर्थनमा र जन आन्दोलनपछि प्राप्त बहुदलीय प्रजातन्त्रमा पनि व्याप्त रहेको भ्रष्टता र नेताहरुमा देखापरेको स्वार्थलोलुपताप्रति कवितामा आक्रोश पोखेका छन् र विसङ्गति र बेथितिका विरोधमा आगोजस्तै पोल्दो कविता बालेका छन् । वि.सं. १९८३ चैत्र २९ गतेका दिन बागमती अञ्चलको धादिङ्ग जिल्लाको लामिडाँडा केवलपुरमा पिता हरिप्रसाद पौडेल र माता मायादेवी पौडेलका कोखबाट जन्मेका देवीप्रसाद पौडेलको निधन २०६८ असोज २२ गते भएको देखिन्छ । जीवनका थुप्रै क्षणहरु दुःख र पीडामा गुजारेका यिनले हली, गोठालो भएर, घरमा काम गर्ने केटा भएर, भान्छे भएर, अर्काको आधार र आशिषमा जीवन गुजारेका यिनी अनुभवकै पारखी हुन् । अनुभव र परिवेशबाट नै चोखो साहित्यको सिर्जना हुनसक्छ भनी साहित्यकै वास्तविक अर्थ बताउन खोज्ने कवि किसानले जीवनका थुप्रै क्षणहरुमा खेतबारी, वन–जंगल चहारेर जीवनका मूल्यहरु बटुलेका छन् । गोकुल साहित्य पुरस्कार र कृष्णमणि साहित्य पुरस्कारबाट पुरस्कृत भइसकेका कवि किसानलाई जनमत साहित्यिक प्रकाशनले जनमत वरिष्ठ साधक सम्मान र प्रगतिशील लेखक संघ, नेपालबाट प्रगतिशील कविका रुपमा सम्मान दिइसकेका छन् । युद्धप्रसाद मिश्र प्रकाशन तथा पुरस्कार गुठीका अध्यक्षसमेत रहिसक्नाका साथै कवि आफैबाट सिर्जना गरिएको देवीप्रसाद गुठीका पनि अध्यक्ष भई यिनले सेवा पु¥याइसकेको देखिन्छ । पछि यिनले रु. ५०,०००।– नगद जनमत प्रकाशनलाई प्रदान गरी केवलपुरे–जनमत सम्मानका संस्थापक भई जनमतका वरिष्ठ मानार्थ संरक्षक भई नेपाली साहित्यलाई टेवा पु¥याइदिएका छन् । गाउँकै स्कूलमा केही वर्ष शिक्षण सेवा पु¥याइसकेका यी कविले साहित्य र राजनीतिमा पनि जनताकै पक्षमा लागेर आफूलाई निस्वार्थी सेवकका रुपमा पेश गरेका छन् । ८५ वर्षसम्म बाँचेका कवि किसानले कहिले पनि आफूलाई निर्वल र अशक्त सम्झेर जीवनपथमा पलायन हुन चाहेनन् । यस्तै सोचका सवल कवि भएको कारणबाट नै उनका कवितामा आस्था र विश्वासका उर्जाहरु, प्रकाशका पुञ्जहरु, जनताप्रतिका समर्पणका भावहरु र देश तथा जनताप्रतिका उच्छ्वासहरु पङ्ति–पङ्तिमा उजागर भएका छन् । कवितामा विश्वासका फाँकाहरु यसरी फुकाउन उनी मन पराउँछन् ः
ती साहित्य कला र संस्कृति उपर गर्दै ठूलो आदर
सच्चा हे जनसेवी साथीहरु हो लौ विश्व मोर्चा गर
आजादी, प्रगति र शान्तिपथको कर्नाल फुक्तै गर,
भिक्षाले हक पाइदैंन दरिलो संघर्षको ठीक गर ।
प्रजातन्त्र र संसदबाट हुने ढाँटछलप्रति पनि कवि कवितामा यसरी विद्रोह बोल्न खोज्छन् ः
शहरका खर्पन र पहाडका डोका
मधेसका ती टोकरी देख्छु, सधैं रोका,
आधासरो यो नेपाली नाघ्छ डाँडाकाँडा ।
संसदको भर हुन्न त्यो त गफीको गफ हाँक्ने ठाउँ हो
पुग्छन् जालीहरु त्यहाँ त गतिलो को पुग्न पो पाउ“थ्यो
भोका पल्टनको जमात बटुली बोल न धावा अब
रातो लालीगुराँसकै चहकिला तातो बनौं है सब ।
यस्तै भावनाका धनी कवि भएकै कारणले कवि किसानका भावनाहरु जनप्रतिबद्ध छन् भन्न सकिन्छ ।प्रभातफेरी अनलाइन

प्रतिक्रिया दिनुहोस्