सिन्धुपाल्चोक । लोकतन्त्रको वास्तविक शक्ति संसद् वा सिंहदरबारमा मात्र होइन, गाउँका महिलाले आफ्ना प्रतिनिधिसामु निर्भीक रूपमा प्रश्न सोध्न सक्ने वातावरणमा पनि देखिन्छ । सिन्धुपाल्चोकको साँगाचोकमा आयोजित एक सार्वजनिक सुनुवाइले यही सन्देश दिएको छ ।
कमलको फुल महिला बहुउद्देश्यीय सहकारी संस्था साँगाचोकको आयोजना तथा टेवाको सहयोगमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी महिलाहरूले आफ्नो दैनिकीसँग जोडिएका अनेक प्रश्न स्थानीय सरकार र सरोकारवाला निकायसमक्ष राखे । उनीहरूका सवाल केवल व्यक्तिगत समस्या थिएनन्, बरु ग्रामीण महिलाले भोगिरहेका साझा चुनौतीहरूको प्रतिबिम्ब थिए ।
कार्यक्रममा लैङ्गिक उत्तरदायी बजेट, महिला प्रजनन स्वास्थ्य, उद्यमशीलता, लैङ्गिक हिंसा, विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा रोजगारीका विषयमा खुलेर बहस भयो । सहभागी महिलाहरूले योजना निर्माणदेखि कार्यान्वयनसम्म महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिए ।
वैदेशिक रोजगारीको असर गाउँमा
सार्वजनिक सुनुवाइमा उठेका प्रमुख विषयमध्ये एक थियो बढ्दो युवा विदेश पलायन । गाउँमा रोजगारीका अवसर सीमित हुँदा युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन् । यसले गाउँको उत्पादन प्रणालीदेखि सामाजिक संरचनासम्म प्रभाव पारिरहेको महिलाहरूले बताए ।
सहभागी ओम माया खड्काले स्थानीय स्तरमै स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनका अनुसार गाउँमा युवाशक्ति टिकाउन नसकिए विकासका धेरै योजना कागजमै सीमित हुने खतरा छ ।
उद्यमशील महिलाहरूले पनि उत्पादन गरेपछि बजार नपाउने समस्याबारे गुनासो गरे। सीप र तालिम पाए पनि उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्न बजार व्यवस्थापन चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ थियो ।
सिमान्तकृत समुदायका सवाल अझै उस्तै
कार्यक्रममा माझी समुदायका बालबालिकाको शिक्षा, बालविवाह, विद्यालय छाड्ने प्रवृत्ति तथा सामाजिक जोखिमका विषय पनि उठाइयो । सहभागी अविना माझीले अझै पनि आफ्नो समुदाय विकासको मूलधारबाट टाढा रहेको बताइन्। एकल महिला तथा विपन्न परिवार लक्षित कार्यक्रमको प्रभावकारिता र पहुँचबारे समेत प्रश्न उठे। सहभागीहरूले स्थानीय सरकारले सबै समुदायसम्म समान रूपमा सेवा पु¥याउनुपर्ने आवश्यकता औँल्याए ।
लैङ्गिक बजेट कागजमा कि व्यवहारमा ?
नेपालका अधिकांश स्थानीय तहले लैङ्गिक उत्तरदायी बजेटको अभ्यास गरिरहेको दाबी गरे पनि त्यसको प्रभाव व्यवहारमा कति देखिन्छ भन्ने प्रश्न अझै कायम छ । सहभागी शृजना गिरीले महिलामैत्री बजेट कार्यान्वयनको अवस्थाबारे चासो व्यक्त गरिन्। महिलाहरूले बजेट निर्माण प्रक्रियामा मात्रै होइन, अनुगमन र मूल्याङ्कनमा समेत सहभागी हुन पाउनुपर्ने धारणा राखे ।
उनीहरूको भनाइमा महिला विकासका नाममा बजेट छुट्याउनु मात्रै पर्याप्त हुँदैन, त्यसले महिलाको जीवनमा वास्तविक परिवर्तन ल्याउन सक्नुपर्छ ।
सामाजिक समस्यामाथि खुला बहस
कार्यक्रममा महिलाहरूले घरेलु हिंसा, मदिरा सेवन र सामाजिक विकृतिका विषयमा पनि खुला रूपमा कुरा गरे । सहभागी जुना माझीले अत्यधिक मदिरा सेवनका कारण समुदायमा विभिन्न समस्या बढिरहेको उल्लेख गरिन् ।
यस्ता विषय सार्वजनिक रूपमा उठ्नु आफैँमा सकारात्मक परिवर्तनको संकेत भएको स्थानीय अगुवाहरू बताउँछन्। केही वर्षअघिसम्म यस्ता विषय घरभित्र सीमित रहने गरेका थिए ।
स्थानीय सरकारको प्रतिबद्धता
कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले उद्यमशीलता र आयआर्जनका कार्यक्रम नगरपालिकाको प्राथमिकतामा रहेको बताइन् । उनले स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउन नागरिकको निरन्तर सहभागिता आवश्यक रहेको धारणा राखिन् ।
महिला विकास निरीक्षक सुमित्रा भट्टराई, वडा सचिव रञ्जु शाह तथा साँगाचोक प्रहरी चौकीका इन्चार्ज राजन अधिकारीले पनि आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा जवाफ दिएका थिए ।
1780832604.jpg)
कार्यक्रममा बोल्दै टेवाकी कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठले महिला अधिकार, नेतृत्व विकास र सामुदायिक सशक्तीकरणका क्षेत्रमा संस्था तीन दशकदेखि सक्रिय रहेको बताइन् । उनका अनुसार महिलाको आवाज नीति निर्माण तहसम्म पु¥याउनु नै संस्थाको प्रमुख उद्देश्य हो ।
कमलको फुल महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष सीता पौडेलले पनि सहकारीले महिलाको आर्थिक र सामाजिक सशक्तीकरणका लागि निरन्तर काम गरिरहेको जानकारी दिइन् ।
नेपालकै पहिलो राष्ट्रिय महिला कोषका रूपमा स्थापित टेवाले महिला नेतृत्व, आर्थिक सशक्तीकरण, सामाजिक न्याय तथा समुदायमा आधारित महिला समूहहरूको क्षमता अभिवृद्धिमा काम गर्दै आएको छ। ग्रामीण महिलाको आवाजलाई संगठित गर्दै स्थानीय शासन प्रणालीसँग जोड्ने प्रयास टेवाका कार्यक्रमहरूको मुख्य विशेषता मानिन्छ ।

रेडियो सिन्धुबाट
प्रतिक्रिया दिनुहोस्