२०८३ जेष्ठ २४

सहमति नजुटेपछि रास्वपा सिन्धुपाल्चोक अधिवेशन स्थगित

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशन नेतृत्व चयनमा सहमति नजुटेपछि स्थगित गरिएको छ । शनिबारबाट सुकुटेमा सुरु भएको अधिवेशनमा जिल्ला सभापति पदका आकांक्षीहरूबीच सहमति बन्न नसक्दा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो ।

जिल्ला सभापति पदका लागि जेपी सिलवाल, चक्रपाणि सिग्देल, पासाङ तामाङ, दिलमान श्रेष्ठ र कुमार श्रेष्ठले उम्मेदवारी दिएका थिए । तर प्रतिनिधि चयनदेखि नै देखिएको आन्तरिक विवाद नेतृत्व चयन प्रक्रियासम्म पुग्दा गुटगत प्रतिस्पर्धा चर्किएको स्रोतले जनाएको छ ।

आइतबार निर्वाचन सम्पन्न गराउन केन्द्रीय निर्वाचन समितिले काभ्रेका सांसद मधुकुमार चौलागाईंको संयोजकत्वमा तीन सदस्यीय समिति खटाएको थियो । तर निर्वाचन स्थलको विषयमै दुई पक्षबीच मतभेद देखिएपछि थप अन्योल उत्पन्न भएको बताइएको छ ।

एक पक्षले बन्दसत्रको बाँकी प्रक्रिया मेलम्चीमा गर्नुपर्ने माग राखेको थियो भने अर्को पक्षले सदरमुकाम चौतारामा गर्नुपर्ने अडान लिएको थियो । स्थान छनोटमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो ।
स्रोतका अनुसार संयोजक चौलागाईंले निर्वाचन प्रक्रिया अघि बढाउन प्रयास गरे पनि विवाद समाधान नहुँदा अन्ततः अधिवेशन स्थगित गरिएको जानकारी गराइएको छ ।

पार्टी स्थापनाकालदेखि सक्रिय नेताहरू र पछिल्लो निर्वाचनपछि प्रवेश गरेका समूहबीच आन्तरिक प्रतिस्पर्धा बढ्दै जाँदा नेतृत्व चयन जटिल बनेको देखिएको छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय जनसमर्थन हासिल गर्दै सरकारमा समेत सहभागिता जनाइरहेको रास्वपाभित्र जिल्ला तहको नेतृत्वका लागि आकांक्षा बढ्दै गएको सन्दर्भमा यो विवाद सतहमा आएको हो ।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्