२०८१ श्रावण १२
                           

राप्रपा जिल्ला सदस्य संसार श्रेष्ठद्वारा पार्टी त्याग

Sansar Shrestha - संसार श्रेष्ठ

सुप्रिन्स कसजु-

चौतारा/ विगत लामो समयदेखि राप्रपाबाट राजनीति गर्दै आएका समाजसेवी संसार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरेका छन् ।२०४८ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकसँग आवद्ध रहँदै आएका श्रेष्ठले आइतबार सो पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनाामा दिएका हुन् ।

राप्रपा जिल्ला सदस्य रहेका श्रेष्ठले संस्थागत भन्दा पनि पार्टीमा व्यक्तिगत स्वार्थको हावि भएको, राष्ट्रिय समस्या निकासका लागि पार्टीले कुनै भूमिका निर्वाह गर्न नसकेको र ढुलमूले नीति लिएको कारण आफूले पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनामा गरेको बताए ।

६ पटकसम्म महाधिवेशन प्रतिनिधि र दुईपटक जिल्ला सचिवको समेत जिम्मेवारी बहन गरिसकेका श्रेष्ठ पछिल्लोपटक भने जिल्ला कार्य समितिमा निर्वाचित सदस्यको रुपमा रहेका थिए । हाललाई अन्य पार्टीमा प्रवेश नगर्ने र स्वतन्त्र नागरिककोको रुपमा समाजसेवामा समर्पित रहने श्रेष्ठले बताए ।

द्वन्द्वकालिन अवस्थामा पनि राप्रपामा आवद्ध रही निष्ठाका साथ पार्टीमा सकृय श्रेष्ठ सिन्धुपाल्चोक चौताराका एक शसक्त नेताको रुपमा चिनिन्छ । खासगरि पछिल्लोपटक राप्रपाका बरिष्ठ नेता पशुपति शम्सेर जबराको एकलौटी हस्तक्षेपका कारण उनी असन्तुष्ट बन्दै आएका थिए । पछिल्लोपटक केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङदेल आएपछि उनमा केही आशा पलाएको थियो तर लिङदेलको चाल पनि ल्याङल्याङ भएपछि उनले पार्टी छोड्न वाध्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्