२०८३ आश्विन १८

उज्यालो सहकारीको अध्यक्षमा ललितबहादुर राना निर्वाचित

चौतारा । उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ साधारणसभासँगै सम्पन्न निर्वाचनबाट अध्यक्षमा ललितबहादुर राना निर्वाचित भएका छन् । रानाले ९८३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुँदा उनका प्रतिस्पर्धी मीनबहादुर बस्नेतले २३५ मत प्राप्त गरे।
अध्यक्ष पदमा रानाले बस्नेतलाई ७४८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
निर्वाचनबाट उपाध्यक्षमा रामबहादुर कार्की ६२२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लोकबहादुर कार्कीले ४४७ मत प्राप्त गरे ।
त्यस्तै, महिला उपाध्यक्षमा आयुषा खड्का निर्वाचित भएकी छन् । उनले ५११ मत प्राप्त गर्दा प्रतिस्पर्धी शारदा पुरीले ५०९ मत प्राप्त गरिन् । महिला उपाध्यक्षको प्रतिस्पर्धा भने निकै कडा देखिएको थियो। खड्का जम्मा २ मतको अन्तरले विजयी भएकी हुन्।
सचिव पदमा हरिकुमार श्रेष्ठ ५५३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी पितम कुँवरले ४९६ मत प्राप्त गरे ।
सदस्यतर्फ मिनबहादुर श्रेष्ठ र राजकुमार थापा निर्वाचित भएका छन् । मिनबहादुर श्रेष्ठले ३९२ मत तथा राजकुमार थापाले ४३९ मत प्राप्त गरेका छन् ।


सदस्य पदका अन्य उम्मेदवारमध्ये कुमार कार्कीले ३५७, यज्ञनाथ सापकोटाले २३४, सीताराम गिरीले ३०८, पदमबहादुर श्रेष्ठले ५० र रामशरण खत्रीले २२८ मत प्राप्त गरेका छन् ।
यसअघि सम्पन्न संस्थाको १८औँ साधारणसभामा संस्थाको आर्थिक तथा सांगठनिक अवस्थाबारे जानकारी गराइएको थियो। संस्थामा ९१५ पुरुष र १ हजार ४० महिला गरी कुल १ हजार ९५५ जना शेयर सदस्य रहेका छन् ।
निर्वाचन परिणामसँगै उज्यालो बचत तथा ऋण सहकारीले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पाएको छ । नवनिर्वाचित अध्यक्ष राना नेतृत्वको समितिले संस्थाको वित्तीय अनुशासन, पारदर्शिता र सदस्यको हितलाई प्राथमिकतामा राख्दै अघि बढ्ने अपेक्षा गरिएको छ ।


यसअघि साधारणसभालाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सहकारी सञ्चालनमा पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको बताएका थिए । उनले उज्यालो सहकारीले लामो समयदेखि पारदर्शी रूपमा सञ्चालन हुँदै आएको भन्दै अन्य सहकारीले समेत यस्ता संस्थाबाट पाठ सिक्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्