२०८१ श्रावण १२
                           

आगामी निर्वाचनबाट माओवादी केन्द्र दोस्रो हुने बागमती प्रदेश अध्यक्षको दाबी

साउन १६ — नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले आगामी निर्वाचनबाट माओवादी केन्द्र दोस्रो हुने दाबी गर्नुभयो । पाँच दलीय गठबन्धनलाई अगाडि लगेपछि आफूहरु कम्युनिष्ट पार्टीको पहिलो शक्ति बन्ने उहाँको दावि छ ।

‘गठबन्धन गर्ने भएपछि एकले अर्कोलाई सहयोग गरेरै जाने हो । एकल रूपमा आ–आफ्नो स्थान छँदैछ । काँग्रेस पहिलो हुने देखिएकै छ । गठबन्धन नहुँदा माओवादी तेस्रो भइहाल्छ । काँग्रेस बैठकमा माओवादीले ७/८ सीटभन्दा बढी जित्न सक्दैन भनेर छलफल भयो भन्ने सुनेको छु’ उहाँले भन्नुभयोे, ‘त्यो विल्कुल सही होइन । हामी एकल रूपमा प्रतिस्पर्धा गर्दा तेस्रो त्यसै हुन्छौँ । तेस्रोबाट कसैले झार्न सक्दैन।’

गठबन्धन गरेर काँग्रेस पहिलो हुने र माओवादी तेस्रो हुने कुनै हालतमा ठिक नहुने उहाँको भनाइ छ ।‘सीटमा थोरै तलमाथि होला । तर गठबन्धन गर्दा तेस्रो हुने हो भने किन तालमेल गर्ने? त्यसैले हामी दोस्रो हुँदामात्रै गठबन्धन ठिक ढंगबाट अघि बढ्छ । नभए हामीले गठबन्धन गरेको औचित्य हुँदैन’ उहाँले भन्नुभयो ।

गत वैशाख ३० गतेको स्थानीय चुनावमा काँग्रेसले राम्रोसँग नसघाउँदा माओवादी तेस्रो उहाँको बुझाइ छ । अब गठबन्धन हुँदा दोस्रो हुनेगरी जाने माओवादीको रणनीति भएको उहाँले उल्लेख गर्नुभयो ।

२०७४ को निर्वाचनमा बागमती प्रदेशमा प्रतिनिधिसभामा कुल ३२ सीटमा एमालेसँग तालमेल गर्दा माओवादीले ६ सीट जितेको थियो । प्रदेशसभामा १५ सीट जितेको थियो । त्यतिबेला पनि माओवादी तेस्रो शक्ति थियो । गत वैशाख ३० गतेको स्थानीय चुनावमा कुल ११९ पालिकामध्ये २७ प्रमुख र ३० उपप्रमुख जितेको छ ।

प्रतिक्रिया दिनुहोस्