काठमाडौँ, १४ असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई यौन दुराचारको गम्भीर आरोप लगाउने महिलाको कोठाबाट प्रहरीले शंकास्पद वस्तु बरामद गरेको छ ।
यौन दुराचारको आरोप लागेपछि सभामुख महराले पदबाटसमेत राजीनामा दिइसकेका छन् । सभामुख महरा र ती महिलाबीच आइतबार बेलुकाको भएको घटनालगत्तै महिलाले १०० फोन गरेर प्रहरी बोलाएकी थिइन् ।
प्रहरी टोली पुग्नासाथ महरा निवासतर्फ फर्केका थिए भने प्रहरीले घटनास्थलको फोटो खिच्ने र सम्बन्धित शंकास्पद सामग्री बरामद गरेर फर्केको थियो । घटना सञ्चार माध्यमहरूमा पुगेको र घटनाले थप उचाइ लिएपछि प्रहरीले मंगलबार पनि ती महिलाको कोठाबाट सम्बन्धित शंकास्पद बस्तु बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुबेदीले जानकारी दिए ।
उनका अनुसार पीडित पक्षले अहिलेसम्म प्रहरीमा उजुरी दिएकी छैनन् । प्रहरीमा उजुरी गर्नुअघि पीडित महिलाको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि उनी स्वास्थ्य परीक्षण गर्न मानेकी छैनन्। पीडित महिलाले सोचेर तथा सल्लाह गरेर निर्णय लिने बताएको उनले बताए ।
यौन दुराचारको आरोप लाग्नेमा महरा नेपालकै पहिलो उच्च पदस्त व्यक्ति हुन् । महरालाई यौन दुराचारको आरोप लागेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । त्यसलगत्तै महराले उपसभामुख शिवमाया तुम्बहाम्फेलाई राजीनामा बुझाइएका छन् । थाहाखबरबाट
प्रतिक्रिया दिनुहोस्