काठमाडौं/ नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई समाचार कक्षबाटै पक्राउ गरिएको तथा नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोशाकका प्रहरी पुगेको घटनाप्रति सांसद युबराज दुलालले आपत्ति जनाउनुभएको छ। उहाँले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्नु निन्दनीय भएको बताउनुभएको छ।
दुलालले सामाजिक सञ्जालमार्फत स्वतन्त्र पत्रकारितामाथिको यस्तो हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गर्नुभएको हो। उहाँले पक्राउ परेका पत्रकारलाई बिनासर्त रिहा गर्न तथा सञ्चारमाध्यममाथि भइरहेको भनिएको राज्यको दबाब अन्त्य गर्न आग्रह गर्नुभएको छ।
दुलालले सरकार तथा सरकारी निकायका उच्च पदस्थ व्यक्तिहरूका गतिविधि सार्वजनिक गरेका कारण पत्रकारमाथि यस्तो व्यवहार गरिएको भन्दै नागरिकमा कुनै भ्रम नरहेको उल्लेख गर्नुभएको छ। उहाँले स्वतन्त्र, निष्पक्ष र तथ्यपरक समाचार सम्प्रेषणमा निरन्तर लागिरहन आमसञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ।
नेपाल प्रेसका अनुसार पत्रकार सुवेदीलाई समाचारका विषयमा छलफल गर्ने भन्दै प्रहरी भ्यानमा आएका तीन जना सादा पोशाकका व्यक्तिले समाचार कक्षबाट नियन्त्रणमा लिएका थिए। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब परेको भन्ने समाचार प्रकाशित भएपछि प्रहरीले सुवेदीलाई नियन्त्रणमा लिएको बताइएको छ।
यसैबीच, शुक्रबार नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि सादा पोशाकका प्रहरी पुगेका थिए। पत्रिकाका अनुसार उनीहरू समाचार लेख्ने पत्रकार नवराज मैनालीलाई साइबर ब्यूरोमा उपस्थित गराउनुपर्ने भन्दै कार्यालय पुगेका थिए। कार्यालयका सम्पादक खगेन्द्र पन्तले पक्राउ पुर्जी नदेखाइएको र प्रहरी कार्यालय परिसरमा रहेको जानकारी दिनुभएको थियो।
प्रेस काउन्सिल नेपालले पनि समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएको छ। काउन्सिलले पक्राउको कानुनी आधार र पत्रकारको अवस्था सार्वजनिक गर्न माग गर्दै समाचारसम्बन्धी उजुरीको छानबिन तथा निरूपणका लागि स्थापित विधि र प्रक्रिया अपनाउन सरकार तथा प्रहरी प्रशासनलाई आग्रह गरेको छ।
नेपाल प्रेसले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ। समाचारको स्रोत खुलाउन दबाब दिइएको र नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल तथा अध्यक्ष विन्दुराज लम्साललाई समेत सोधपुछका लागि बोलाइएको समाचारमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्