२०८३ कार्तिक १३

विशेषज्ञ चिकित्सक टिकाउन चौतारा अस्पताललाई सकस

छात्रवृत्ति करारका चिकित्सक एक वर्षमै सरुवा हुने प्रवृत्तिले सेवा निरन्तरतामा चुनौती, आवास र प्रोत्साहनको व्यवस्था गर्न  चौताराअस्पताल प्रशासनलाई हम्मेहम्मे

चौतारा, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रमुख सरकारी स्वास्थ्य संस्था चौतारा अस्पताल विशेषज्ञ चिकित्सकको अभाव र जनशक्ति टिकाइराख्ने चुनौतीसँग जुधिरहेको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकका लागि ६ वटा दरबन्दी रहे पनि हाल १ जना मात्र कार्यरत छन् । बाँकी पाँच जना चिकित्सक भने छात्रवृत्ति करारअन्तर्गत रहेको अस्पताल प्रशासनले जनाएको छ ।

छात्रवृत्ति करारमार्फत विशेषज्ञ चिकित्सक अस्पतालमा आउने गरे पनि उनीहरू लामो समयसम्म कार्यरत नरहने समस्या छ । करार व्यवस्थाअनुसार दुर्गम क्षेत्रमा अनिवार्य एक वर्ष सेवा गरेपछि चिकित्सक सुगम क्षेत्रमा सरुवा हुने गरेका छन् । यसले जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार र निरन्तरता दिन कठिनाइ भइरहेको अस्पताल प्रशासनको भनाइ छ ।

आवास र प्रोत्साहनको अभाव मुख्य चुनौती
अस्पतालमा विशेषज्ञ चिकित्सकलाई टिकाइराख्न आवश्यक आवासीय सुविधा र आर्थिक प्रोत्साहनको अभाव रहेको प्रशासनले जनाएको छ । चिकित्सकका लागि आवासीय क्वार्टर उपलब्ध नहुनु र नियमित तलबबाहेक अतिरिक्त प्रोत्साहनको व्यवस्था नहुँदा उनीहरूलाई जिल्लामै लामो समयसम्म कार्यरत राख्न कठिन भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विवेक भण्डारीका अनुसार विशेषज्ञ चिकित्सकको सरुवाले अस्पतालले सञ्चालन गरेका सेवासमेत प्रभावित हुने गरेका छन् । “अस्पतालले नयाँ विशेषज्ञ सेवा सुरु गर्छ, तर सम्बन्धित चिकित्सकको सरुवा भएसँगै त्यो सेवा नै बन्द हुन पुग्छ,” मेडिकल सुपरिटेन्डेन्ट भण्डारीले भने ।

उनका अनुसार केही समयअघि हाडजोर्नी विशेषज्ञको सरुवा भएपछि उक्त सेवा करिब तीन महिनासम्म बन्द भएको थियो । पछि मात्र सेवा पुनः सञ्चालनमा ल्याइएको थियो । यसले विशेषज्ञ चिकित्सकको निरन्तरताको अभावमा अस्पतालले प्रदान गर्ने सेवामा प्रत्यक्ष असर पर्ने देखाएको छ । भण्डारीले स्थानीय सरकारले चिकित्सकका लागि केही आर्थिक प्रोत्साहनको व्यवस्था गर्न सके जिल्लामै विशेषज्ञ जनशक्ति टिकाउन सहयोग पुग्ने बताए ।

विशेषज्ञ चिकित्सकको अभाव र सेवा निरन्तरतामा चुनौती रहे पनि जिल्लामै उपचार तथा शल्यक्रिया गर्न पाउँदा सेवाग्राहीलाई सहज भएको छ । उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता कम हुँदा बिरामी र उनीहरूका परिवारलाई समय, खर्च र आवतजावतको झन्झटबाट राहत मिल्ने गरेको छ।

सेवाग्राही नर बहादुर कार्कीले यसअघि आन्द्राको शल्यक्रिया काठमाडौंस्थित वीर अस्पतालमा गराएको र यसपटक चौतारा अस्पतालमै हर्नियाको शल्यक्रिया गराएको बताए । “काठमाडौंमा शल्यक्रिया गराउँदा भेटघाटका लागि आउने मानिस सीमित थिए । यहाँ उपचार गराउँदा भने आफन्त सबैसँग भेट्ने मौका मिल्यो,” उनले भने ।

तर, चिकित्सक बारम्बार परिवर्तन हुँदा बिरामीले आफ्नो स्वास्थ्य समस्या बुझाउन र उपचारमा विश्वास गर्न कठिन हुने गरेको सेवाग्राही मनकुमारी खत्रीको अनुभव छ । उनका अनुसार चिकित्सक फेरिइरहँदा बिरामीले आफ्नो समस्या खुलेर राख्न नसक्ने अवस्था सिर्जना हुन्छ, जसले अस्पतालप्रतिको विश्वासमा समेत असर पार्न सक्छ । “भौतिक पूर्वाधारका हिसाबले अस्पताल पूर्ण देखिन्छ, तर प्रविधि र जनशक्तिको क्षेत्रमा अझै सुधार आवश्यक छ,” उनले भनिन् ।

चौतारा अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पूरा गर्नुका साथै उनीहरूलाई जिल्लामै टिकाइराख्ने व्यवस्था गर्नु अहिलेको प्रमुख आवश्यकता देखिएको छ । आवासीय सुविधा, आर्थिक प्रोत्साहन र जनशक्तिको दीर्घकालीन व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन सके जिल्लावासीले आफ्नै क्षेत्रमा नियमित र गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा पाउने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्