काठमाडौं/ ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) का केन्द्रीय सदस्य स्वर्गीय किशोर राज वन्तको सम्झनामा आइतबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको सभाहलमा आयोजित सभामा स्वर्गीय वन्तका परिवारका सदस्य, ब्लोदानका पदाधिकारी तथा सदस्य, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
गत असोज २७ गते उपचारका क्रममा निधन भएका वन्तको १३औँ दिनको पुण्यतिथिमा आयोजित कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरिएको थियो। उपस्थित व्यक्तिहरूले वन्तको तस्बिरमा पुष्प अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।
कार्यक्रममा ब्लोदानका महासचिव मचाकाजी महर्जनले कार्यक्रम सञ्चालन गर्दै स्वर्गीय वन्तको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो।
सभामा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठ, केन्द्रीय रक्तसञ्चार सेवाका वरिष्ठ ल्याब टेक्निसियन सञ्जिव यादव, ब्लोदानकी संस्थापक तथा वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठ, ब्लोदानका निवर्तमान अध्यक्ष इञ्जिनियर सानुबाबु प्रजापति र ब्लोदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष तिलकबहादुर अधिकारीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले स्वर्गीय वन्तको योगदानको स्मरण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो।
कार्यक्रमको अन्त्यमा स्वर्गीय वन्तका ज्येष्ठ सुपुत्र उद्धार वन्तले आफ्नो बुवाको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेकोमा आयोजक तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले बुवाले लामो समयदेखि गर्दै आउनुभएको रक्तदानसम्बन्धी अभियानलाई निरन्तरता दिनसमेत आग्रह गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्