कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा सहित अन्यन्त्र रहेका बालिका वा किशोरीहरुलाई खोप लगाइने भएको हो । एच.पि.भी खोपले संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने विश्वास लिइएको छ । एच. पि.भी खोप खोप अभियानबारे आज चौतारा साँगाचोक गढी नगरपालिकाको स्वास्थ्य शाखाले अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी गरेको छ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस एच. पि.भी विरुद्धको खोप अभियान यहि माघ २२ गते सुरु हुदैछ ।
खोपका लागि नगरपालिकाले पहिला देखिनै पहल गर्दै आइरहेको बताउदै यो खोप अभियान सफल बनाउन सरोकारवाला सबै एक जुट भएर लाग्नुपर्ने नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले बताए । पाठेघरको मुखको क्यान्सरको जोखिम शहरको तुलनामा विकट गाउँमा बढी हुनसक्ने र त्यहाँसम्म खोप अभियान संगै चेकजाँच पनि हुनुपर्ने मेयर सापकोटाले बताए । पाठेघरको मुखको क्यान्सर हुने समस्या गम्भिरताका साथ लिनुपर्ने र महिलाहरुले यसबारे खुलेर बताउने, उपचार गर्न पनि अग्रसर हुनुपर्ने उनको भनाई थियो । अभियान बारे बोल्दै प्रादेशिक चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। रुद्रमणि भण्डारीले खोप सुरक्षित रहेकाले नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन अनुरोध गरे । पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु हुने भएकाले खोप जरुरी रहेको डा। भण्डारीले बताए ।
उपमेयर सिता थापाले महिलाहरुलाई हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानमा सबैजना लाग्न आग्रह गरिन् । नगरपालिकाले समय समयमा पाठेघरको परिक्षण शिविर समेत सञ्चालन गर्दै आइरहेको जानकारी दिइन् । १३ नं का वडाध्यक्ष रामप्रसाद गौतमले जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, शिक्षक लगायतका सहायताले सबै बालिकाहरुलाई खोप अभियानमा सहभागि गराई खोप लगाइने बताए ।
नगरपालिका भरि अन्दाजी १५ सय भन्दा बढी बालिकाहरू रहेको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिए । खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मी, स्वास्थ्य सँस्था, चौतारा अस्पताल,जनस्वास्थ्य कार्यलय र खोप समन्वय समितिका व्यक्तिहरुसँग मिलेर तयारी भइरहेको नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस्