२०८३ भाद्र २७

सुकुटे पर्यटन विकासका लागि व्यवसायी र नगरपालिकाबीच छलफल

सिन्धुपाल्चोक । सुकुटे क्षेत्रको पर्यटन विकास, व्यवसाय सञ्चालनमा देखिएका समस्या तथा व्यवस्थापनका विषयमा पर्यटन व्यवसायी र चौतारा साँगाचोकगढी नगरपालिका बीच छलफल भएको छ । सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापाको अध्यक्षतामा शुक्रबार सुकुटेमा आयोजित छलफलमा क्षेत्रका पर्यटन व्यवसायी तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सीता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, वडा नं. १४ का अध्यक्ष उद्धव नेपालसहित विपद् व्यवस्थापन, प्राविधिक तथा राजस्व शाखाका कर्मचारी सहभागी थिए ।

छलफलमा उपप्रमुख थापाले नगरपालिकासँग पर्यटन व्यवसायीबीच भएका सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । सुकुटे क्षेत्रको पर्यटनलाई व्यवस्थित र दिगो बनाउन स्थानीय सरकार र व्यवसायीबीच निरन्तर सहकार्य, समन्वय र आपसी समझदारी आवश्यक रहेको उनको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेले प्रचलित कानुन र निर्धारित मापदण्डको पालना गर्दै पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । कानुनी प्रक्रियाभित्र रहेर व्यवसाय सञ्चालन गर्दा पर्यटन क्षेत्रको विकाससँगै व्यवसायीको लगानी र व्यवसायको संरक्षणमा समेत सहयोग पुग्ने उनले बताए ।

छलफलका क्रममा पर्यटन व्यवसायीहरूले लगानीको सुरक्षा र व्यवसाय सञ्चालनका लागि आवश्यक अनुकूल वातावरण निर्माण गर्न नगरपालिकासँग आग्रह गरेका थिए । व्यवसाय सञ्चालनमा देखिएका व्यावहारिक समस्या समाधानका लागि स्थानीय सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने उनीहरूको माग थियो ।

व्यवसायीहरूले सुकुटेलाई सुरक्षित, व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।

छलफलमा सुकुटे क्षेत्रको पर्यटन विकासका सम्भावना, व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या, आवश्यक व्यवस्थापन तथा स्थानीय सरकार र पर्यटन व्यवसायीबीचको सहकार्यलाई प्रभावकारी बनाउने उपायबारे विचार-विमर्श गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्