२०८३ श्रावण २३

रास्वपाको अधिवेशनमा मानवताको सन्देश, ५३ जनाद्वारा रक्तदान

सिन्धुपाल्चोक | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशनको अवसरमा चौतारामा आयोजित वृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) सिन्धुपाल्चोकको आयोजनामा, राष्ट्रिय स्वतन्त्र पार्टी चौतारा साँगाचोकगढी नगर समितिको सह-आयोजनामा तथा चौतारा रक्तसञ्चार सेवा केन्द्रको समन्वयमा सम्पन्न कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । रक्तदातामध्ये ३ जना महिला र ५० जना पुरुष रहेका थिए ।

आहालडाँडा कभर्डहल, चौतारामा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य भरत पराजुली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । प्रमुख अतिथि पराजुलीले रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो मानवीय कार्य भएको उल्लेख गर्दै स्वस्थ नागरिकलाई नियमित रक्तदान गर्न आग्रह गरे । उनले रक्तको अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।


कार्यक्रममा दलका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा, स्थानीयवासी तथा स्वेच्छिक रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा ग्रहण गर्दै भविष्यमा पनि यस्ता अभियानमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।यसैबीच, आगामी दिनहरूमा पनि नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले कार्यक्रममा स्वेच्छिक आर्थिक सहयोगसमेत संकलन गरिएको छ । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) सिन्धुपाल्चोकका अध्यक्ष सुरेशराम कसजूका अनुसार कार्यक्रममा सहभागी दाताहरूबाट कुल रु. ५३ हजार २१० सहयोग संकलन भएको छ । उक्त रकम आगामी दिनमा जिल्लाभित्र सञ्चालन गरिने रक्तदान कार्यक्रम, रक्तदानसम्बन्धी जनचेतनामूलक अभियान तथा सामाजिक सेवामूलक गतिविधिमा प्रयोग गरिने अध्यक्ष कसजूले जानकारी दिए ।


कार्यक्रमका आयोजकहरूले रक्तदानले एक जनाको मात्र होइन, धेरै बिरामीको जीवन बचाउन सक्ने भएकाले स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरेका छन् । “एक थोपा रगतले कसैको जीवनमा ल्याउन सक्छ नयाँ आशा” भन्ने मूल सन्देशका साथ सम्पन्न कार्यक्रमले जिल्लामा रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्