२०८३ असार ९

खेलकुदमार्फत सामाजिक एकताको सन्देश, चौतारामा ओलम्पिक दिवस मनाइयो

चौतारा । आधुनिक ओलम्पिक आन्दोलनको स्थापना दिवसको स्मरणमा ब्लोदान सिन्धुपाल्चोकको आयोजनामा सोमबार चौतारामा ओलम्पिक डे २०२६ मनाइएको छ । दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण खुला दौड प्रतियोगितामा विभिन्न उमेर समूह, महिला, पुरुष तथा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
“खेलकुदमार्फत स्वास्थ्य, एकता र समावेशिता” को सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जिल्लाभरका खेलप्रेमी, विद्यार्थी, युवा तथा ज्येष्ठ नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।


प्रतियोगितामा खुल्ला पुरुषतर्फ आयुष तामाङ प्रथम, अरुण तामाङ द्वितीय तथा सुशील महत तृतीय भए ।

त्यस्तै खुल्ला महिलातर्फ स्वस्थानि वि.क प्रथम, सिता श्रेष्ठ द्वितीय र प्रतिमा तामाङ तृतीय स्थान हासिल गर्न सफल भइन् ।


५० वर्षमाथिको समूहमा दुर्गाप्रसाद ढुंगेल प्रथम, रमेश गुरुङ द्वितीय तथा चित्रबहादुर कपाली र युवराज निरौला तृतीय स्थानमा रहे ।

यस्तै १६ वर्षमुनिको विधामा प्रतिक खत्री प्रथम, उज्ज्वल बस्नेत द्वितीय तथा अयुप मिजार तृतीय भए ।


अपाङ्गता भएका व्यक्तिहरूको समूहमा रामकृष्ण वि.क प्रथम, पिटर श्रेष्ठ द्वितीय तथा दीपक कुमार कसजू तृतीय हुन सफल भए ।


कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले खेलकुदले स्वस्थ, अनुशासित र ऊर्जावान समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले ओलम्पिक दिवसको अवसरमा आयोजित यस्ता कार्यक्रमले खेल संस्कृतिको विकाससँगै नयाँ प्रतिभा पहिचान र प्रोत्साहनमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा सहभागी रमेश गुरुङले सिन्धुपाल्चोकमा ओलम्पिक दिवसको अवसरमा यस किसिमको कार्यक्रम सम्भवतः पहिलो पटक आयोजना गरिएको उल्लेख गर्दै यसले जिल्लाको खेल क्षेत्रलाई थप जीवन्त र आकर्षक बनाउने विश्वास व्यक्त गरे । उनले यस्ता गतिविधिले खेलाडीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


त्यसैगरी अर्का सहभागी सुशील महतले अपाङ्गता भएका व्यक्ति, महिला, पुरुष, ज्येष्ठ नागरिक तथा बालबालिकालाई एउटै कार्यक्रममा सहभागी गराइनु समावेशी खेल संस्कृतिको उत्कृष्ट उदाहरण भएको बताए । प्रतियोगिताले सबै वर्ग र समुदायलाई समान अवसर प्रदान गर्दै खेलकुदको वास्तविक मर्मलाई आत्मसात गरेको उनको धारणा थियो ।
ओलम्पिक दिवसको अवसरमा सम्पन्न उक्त प्रतियोगिताले खेलकुद प्रतिस्पर्धाको सीमाभन्दा माथि उठेर सामाजिक एकता, सहभागिता र समावेशिताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् । प्रतियोगिताका विजेताहरूलाई पदक र प्रमाणपत्रबाट प्रमुख अतिथि तथा विशेष अतिथिहरूले सम्मान गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्