२०८३ असार १

इष्ट पोइन्ट एकेडेमीको १३औं वार्षिकोत्सव सम्पन्न, नवनिर्वाचित दुलाल प्रमुख अतिथि

शेरा/ हेलम्बु गाउँपालिका–४ स्थित इष्ट पोइन्ट एकेडेमीको १३औं वार्षिकोत्सव, पूर्व आधारभूत तहको दीक्षान्त समारोह तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ। कार्यक्रम प्रतिनिधि सभामा नवनिर्वाचित तथा पूर्व बागमती प्रदेश मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक दामोदर भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष बुद्धि प्रसाद आचार्यले निजी विद्यालयहरूले भोगिरहेका विभिन्न समस्या र चुनौतीबारे धारणा राखेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति र प्रतिभा प्रदर्शन गरेका थिए। साथै एसइई तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुलालले आफू भर्खर प्रतिनिधि सभामा निर्वाचित भए पनि अझै सदस्यका रूपमा सपथ नलिएको उल्लेख गर्दै सिन्धुपाल्चोक क्षेत्र नं. २ को विकासका लागि धेरै सपना र योजना बोकेर आएको बताए। उनले बदलिँदो परिस्थितिमा पनि सम्भावनाहरू प्रशस्त रहेको उल्लेख गर्दै क्षेत्रको विकास, समृद्धि र जनताको आवाज संसदमार्फत कानुनमा रूपान्तरण गर्ने आफ्नो प्रमुख जिम्मेवारी हुने बताए।

दुलालले देशले अब सुशासन र विधिको शासनको बाटो समात्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाललाई २१औं शताब्दीको विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने र नेपालीहरूलाई आफ्नै देशमा अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए। उनले अब बन्ने सरकारलाई सफलताको शुभकामना समेत व्यक्त गरे।

उनले राज्यले जनतालाई सबै क्षेत्रमा न्याय दिनुपर्ने र नागरिकलाई अझ बढी अधिकार तथा सेवा–सुविधा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे। साथै शैक्षिक नीतिका विषयमा संस्थागत (निजी) तथा सामुदायिक विद्यालय दुवैको आवाज राज्यले सुन्नुपर्ने उनले बताए।

निजी तथा सार्वजनिक विद्यालयका समस्याबारे आफूलाई पहिलेदेखि जानकारी रहेको उल्लेख गर्दै दुलालले ती विषयहरू प्रतिनिधि सभा र सरकारसम्म पुर्‍याएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्