२०८२ फाल्गुन २४

रास्वपाका भरतप्रसाद पराजुली सिन्धुपाल्चोक १ बाट निर्वाचित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरतप्रसाद पराजुली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २४ हजार ४१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार माधव सापकोटाले १७ हजार ३२७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् ।
को हुन भरतप्रसाद पराजुली ?
बलेफी गाउँपालिका–६ का स्थायी बासिन्दा पराजुली १९ भदौ २०२५ मा जन्मिएका हुन् । उनले स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका छन् र शिक्षित तथा स्थापित व्यवसायीका रूपमा परिचित छन् ।
राजनीतिक रूपमा नेकपा एमाले पृष्ठभूमिबाट आएका पराजुली हाल राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । संसदीय अनुभव नभए पनि निजी क्षेत्रको लामो अनुभव र व्यवस्थापन क्षमताले उनलाई फरक पहिचान दिएको छ ।
पराजुली हाल जुगल गाउँपालिकामा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रह्मायणी जलविद्युत् आयोजनाका अध्यक्षसमेत रहेका छन् । ऊर्जा क्षेत्रको विकास, स्थानीय रोजगारी सिर्जना तथा दिगो आर्थिक वृद्धिमा उनको संलग्नता उल्लेखनीय मानिन्छ ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा ३० हजार ४०८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । त्यतिबेला दोस्रो स्थानमा नेकपा एमालेका सरेश नेपालले २७ हजार ६६ मत प्राप्त गरेका थिए भने रास्वपाका दिनेश श्रेष्ठ ३ हजार ५०३ मतमा सीमित भएका थिए ।
यस पटक भने नयाँ अनुहारका रूपमा चुनावी मैदानमा उत्रिएका पराजुलीले विकास, सुशासन र परिणाममुखी राजनीतिलाई मुख्य एजेन्डा बनाउँदै मतदाताको विश्वास जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्