चौतारा । सिन्धुपाल्चोक जिल्लामा खेलकुदमार्फत युवालाई एकताबद्ध गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘प्रथम सरोज स्मृति कप’ पुरुष भलिबल प्रतियोगिता–२०८२ को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ । कविण्डे युवा समूहको आयोजनामा तथा स्थानीय तह र सरोकारवालाहरूको सहकार्यमा सुरु भएको प्रतियोगिताले जिल्लामा खेलकुदप्रतिको उत्साह थपेको छ ।

प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका र बलेफी गाउँपालिकाबीच भएको उद्घाटन खेलमा बलेफी गाउँपालिकाले जित निकाल्यो । त्यसैगरी सुनकोसी गाउँपालिका र जुगल गाउँपालिकाबीचको दोस्रो खेलमा जुगल गाउँपालिका विजयी भयो भने लिसंखु पाखर गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाबीच भएको तेस्रो खेलमा त्रिपुरासुन्दरी गाउँपालिकाले बाजी मार्यो ।

उद्घाटन समारोहका प्रमुख अतिथि पूर्व सभामुख अग्निप्रसाद सापकोटाले खेलकुदले युवामा अनुशासन, सहकार्य र सकारात्मक सोचको विकास गर्ने उल्लेख गर्दै सिन्धुपाल्चोकलाई खेलकुद र युवा शक्तिमार्फत राष्ट्रकै नमुना जिल्लाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले नेतृत्व हस्तान्तरण र जिम्मेवार पुस्तान्तरण अपरिहार्य रहेको बताउँदै क्षेत्र नं. १ बाट माधव सापकोटा र क्षेत्र नं. २ बाट युवराज दुलाललाई नयाँ पुस्ताको प्रतिनिधिका रूपमा अघि बढाइएको स्पष्ट पारे । यस पहलले जिल्लाको राजनीति र विकासमा नयाँ अध्याय सुरु हुने उनको विश्वास थियो ।

कार्यक्रमका विशेष अतिथि निवर्तमान सांसद माधव सापकोटाले युवामा निहित क्षमता उजागर गर्न स्थानीयस्तरमा यस्ता खेलकुद प्रतियोगिता निरन्तर आयोजना हुनुपर्ने आवश्यकता औँल्याए । खेलले आत्मविश्वास बढाउने र आत्मविश्वासले चुनौती तथा समस्यासँग सामना गर्ने ऊर्जा प्रदान गर्ने उनको भनाइ थियो । साथै उनले फागुन २१ गते हुने निर्वाचनको सन्दर्भ उल्लेख गर्दै आफूलाई पार्टीले प्रतिनिधि सभा क्षेत्र नं. १ का लागि उम्मेदवारका रूपमा सिफारिस गरेको जानकारी गराउँदै, सिन्धुपाल्चोकवासीको विश्वास र मायाका साथ पुनः संसद पुग्ने अपेक्षा व्यक्त गरे ।

चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले खेलकुदलाई युवाको ऊर्जा सही दिशामा उपयोग गर्ने सशक्त माध्यमका रूपमा वर्णन गरे । उनले नगरपालिकाले आगामी दिनमा पनि खेलकुद विकासलाई प्राथमिकतामा राख्दै यस्ता रचनात्मक र सकारात्मक गतिविधिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात् गर्दै ब्लड डोनर्स एसोसिएसन नेपाल, ब्लोदान सिन्धुपाल्चोकको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले स्वेच्छिक रक्तदान गरेका छन् ।

उद्घाटन समारोहमा राष्ट्रिय हास्य कलाकार सुबोध गौतम तथा लोकप्रिय गायिका गंगा सोनामको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो ।
आयोजकका अनुसार प्रतियोगिता निर्धारित तालिकाअनुसार निरन्तर सञ्चालन हुने छ । प्रतियोगितामा जिल्लाका ११ स्थानीय तहका टोलीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्