२०८१ श्रावण १२
                           

चौसाँगढी नगरपालिकाले निःशुल्क माध्यमिक शिक्षा प्रत्याभूत गर्ने, ३८ शिक्षक समायोजन

बैशाख ८, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले निशुल्क शिक्षा कार्यान्वयन गर्ने भएको छ । नगरपालिकाले शिक्षक र विद्यार्थी अनुपातमा शिक्षक समायोजन गरेको छ ।

यहि बैशाख ४ गतेका दिन ३८ जना शिक्षकहरुलाई सरुवा गरेको छ ।चौतारा साँगाचोकगढी नगरपालिकाको यो निर्णयलाई शिक्षकहरुले शिक्षामा नयाँ फड्को भएको बताएका छन् ।

यस नगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयको नक्साङ्कन, भौगोलिक अवस्था, जनसांख्यिक अवस्था र विद्यार्थीहरुको संख्या लगायत विषयलाई ध्यान दिइएको छ । साथै नगरपालिकाको सबै बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउने उद्देश्य रहेको छ ।

चौसाँगढीका मेयर कृष्ण प्रसाद सापकोटाले अनिवार्य र निःशुल्क आधारभूत शिक्षा तथा निःशुल्क माध्यमिक शिक्षा प्रत्याभूत गर्ने अभिप्रायले विद्यालय एकीकरण तथा शिक्षक दरबन्दी मिलान गर्न आवश्यक रहेको बताए ।गत साता बसेको कार्यपालिका बैठकले विद्यालय एकीकरण तथा शिक्षक दरबन्दी मिलान मापदण्ड निर्देशिका २०८० जारी गर्दै कार्यान्वयनमा ल्याएको हो ।

हाल प्रारम्भिक बालविकास तथा शिक्षाका कक्षा सञ्चालन भइरहेको विद्यालयहरुमा बालबिकास कक्षा निरन्तरता दिने विद्यालय एकीकरण मापदण्डमा उल्लेख छ ।यसैगरी बालबिकास कक्षामा बालबालिकाको संख्या ५ जनाभन्दा कम भएमा भूगोल हेरेर नजिकको अर्को विद्यालयमा एकीकरण गर्ने तथा कक्षा ३ सम्म सञ्चालित विद्यालयमा प्रति कक्षा १० जना विद्यार्थी हुनुपर्ने ।

सोभन्दा कम विद्यार्थी भएका विद्यालयमा कक्षा कटौति गर्ने तर विद्यार्थी संख्या प्रति कक्षा १० जना पु¥याउने स्पष्ट आधारसहित कक्षा सञ्चालन गर्नुपर्ने भएमा यी विद्यालयमा पुन कक्षा सञ्चालन अनुमति प्रदान गर्नेछ ।

यदि प्रति कक्षा १० जना भन्दा कम विद्यार्थी भएका स्थानका बालबालिका अर्को विद्यालयमा जाँदा आधा घण्टा भन्दा बढी हिड्नुपर्ने भएमा त्यस्ता विद्यालयमा कक्षा कटौति नगरी बहुकक्षा विद्यालय घोषणा गरी सञ्चालन गर्ने उल्लेख छ ।

कक्षा ५ सम्म सञ्चालित विद्यालयमा कक्षा ४ देखि ५ सम्म प्रति कक्षा विद्यार्थी संख्या १० जनाभन्दा कम वा कक्षा ४ र ५ मा गरी जम्मा २० जना विद्यार्थी नभएमा दुवै कक्षा नजिकैको अर्को विद्यालयमा एकीकरण गर्ने तथा कक्षा ८ सम्म सञ्चालित विद्यालयहरुमा कक्षा ६ देखि ८ सम्म प्रति कक्षा १२ जनाभन्दा कम विद्यार्थी भएमा ती कक्षाहरु नजिकैको विद्यालयमा एकीकरण गर्ने उल्लेख छ ।

कक्षा १० सम्म सञ्चालित विद्यालयमा विद्यार्थी संख्या प्रति कक्षा १५ जना भन्दा कम भएमा कक्षा ९ र १० नजिकैको अर्को विद्यालयमा एकीकरण गर्ने र कक्षा १२ सम्म सञ्चालित विद्यालयमा कक्षा ११ र १२ मा कुनै पनि ऐच्छिक विषय सञ्चालन गर्नका लागि कम्तीमा १० जना विद्यार्थी हुनु पर्नेछ ।

यदि विद्यालयमा भर्ना भएका विद्यार्थी संख्या १० भन्दा कम भएमा सो विषय सञ्चालन भएको नजिकैको विद्यालयमा विद्यार्थी पठाउने र उक्त विषयको कक्षा सञ्चालन नगर्ने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्