२०८२ पुष ४

कमला पाख्रिन ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार–२०८२’बाट सम्मानित

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककी उपाध्यक्ष तथा कान्तिपुरकर्मी कमला पाख्रिन विज्ञान पत्रकारितामा गरिएको निरन्तर योगदानका लागि ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन्। विज्ञान र वातावरणजन्य विषयमा गहिरो अध्ययन, तथ्यमा आधारित रिपोर्टिङ र आमपाठकलाई जटिल वैज्ञानिक विषय सरल भाषामा बुझाउने उनको क्षमता नै यो सम्मानको प्रमुख आधार बनेको संस्थाले जनाएको छ।

नास्टको ४३औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पाख्रिनलाई प्रमाणपत्रसहित ५० हजार रुपैयाँ प्रदान गर्दै विज्ञान पत्रकारिता समाजलाई विज्ञानप्रति जागरूक बनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।

विगत केही वर्षयता पाख्रिनले जलवायु परिवर्तन, जैविक विविधता, प्रकृति संरक्षण, आनुवंशिक अनुसन्धानजस्ता गम्भीर विषयहरू पछ्याउँदै तिनको प्रभाव समुदायसम्म पुर्‍याउने उद्देश्यले खोजमूलक र विश्लेषणात्मक सामग्री सार्वजनिक गर्दै आएकी छन्। पत्रकारिताको यही प्रतिबद्धता र योगदानलाई नास्टले उच्च मूल्याङ्कन गरेको हो।

समारोहमा नास्टले अन्य विधामा पनि व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ। कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार डा. वसन्त पन्तलाई प्रदान गरियो भने विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार काठमाडौं विश्वविद्यालयका प्रा. डा. सुबोध शर्माले पाए। त्यसैगरी विज्ञान पुरस्कार डा. रमेशराज पन्त र प्रविधि पुरस्कार प्रा. डा. सुदन झालाई प्रदान गरियो।

कार्यक्रममा युवा वैज्ञानिक तथा अनुसन्धानकर्तादेखि विभिन्न संस्थासमेत ‘विज्ञान तथा प्रविधि युवा पुरस्कार’सहित विविध श्रेणीका सम्मानले उद्यमशीलता र अनुसन्धानप्रति प्रेरित गरिने आशा व्यक्त गरियो।

प्रतिक्रिया दिनुहोस्