२०८२ भाद्र १२

ऊर्जा विकाससँगै स्थानीयको चिन्ता, बाह्रविसेमा भोटेकोशी–५ जलविद्युत् आयोजना बन्दै

सिन्धुपाल्चोक — भोटेकोशी नदीमा निर्माण हुन लागेको ४६ मेगावाट क्षमताको ‘भोटेकोशी–५ जलविद्युत् आयोजना’ले बाह्रविसे क्षेत्रमा ऊर्जा उत्पादनको सम्भावना मात्र होइन, स्थानीय बासिन्दाबीच बहस र चिन्ता पनि थपेको छ । करिब १० अर्ब लगानीमा बन्ने आयोजनाको सुरुङ र पावरहाउस निर्माणस्थल निर्धारण भएसँगै स्थानीयको ध्यान अब यसको दीर्घकालीन प्रभावतर्फ गएको छ ।

कालीका इनर्जी लिमिटेडले मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट निस्किएको पानीलाई सुरुङमार्फत त्रिपुरासुन्दरी गाउँपालिकामा पुर्याएर विद्युत् उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि, स्थानीयले भने परियोजनाले क्षेत्रको वातावरण, पर्यटन र दैनिकीमा असर पार्ने भन्दै आंशंका व्यक्त गरेका छन् ।

सार्वजनिक सुनुवाइमा बोल्दै बासिन्दाले सुरुङ खन्ने क्रममा बाह्रविसे बजारको सुन्दरता हराउने, खानेपानी स्रोत सुक्ने, पहिरोको जोखिम बढ्ने, पर्यटन व्यवसाय प्रभावित हुने जस्ता समस्या आउन सक्ने उल्लेख गरे । “ऊर्जा उत्पादन महत्वपूर्ण छ, तर हाम्रो बसोबास असुरक्षित भए फाइदा के ?” एक स्थानीयले प्रश्न गरे ।

आयोजनापक्षले भने यी समस्या न्यूनीकरणका लागि पूर्व–योजना तयार पारिएको र प्रत्येक गुनासोमा छलफल गर्न तयार रहेको जनाएको छ । कालीका इनर्जीका अध्यक्ष मोहन विक्रम कार्कीले “विकाससँगै समस्या नआउन् भनेर वातावरणीय प्रतिवेदनमा उपायसमेत उल्लेख गरिएको” भन्दै लिखित गुनासो समाधान गर्ने आश्वासन दिए ।

स्थानीय तहका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले पनि आयोजनाबाट हुने फाइदा र सम्भावित असरबीच सन्तुलन कायम गर्न आग्रह गरे । बाह्रविसे नगरप्रमुख बालकृष्ण बस्नेतले “ऊर्जा विकास अपरिहार्य छ, तर प्रभावित जनताको माग र अधिकार सुरक्षित गर्दै अघि बढ्नुपर्छ” भने ।

ऊर्जा उत्पादन र स्थानीय सरोकारबीचको यही द्वन्द्वलाई कसरी मिलाउन सकिन्छ भन्ने प्रश्नसहित आयोजनाले काम अगाडि बढेको छ ।

 

स्रोत : रेडियो सिन्धु

प्रतिक्रिया दिनुहोस्