बाह्रबिसे बजारमा नेवार समुदायमा जन्मिएका विकेश कुथु नेपाली फुटबलमा एकदमै चिनिएका गोलरक्षक हुन्। पुर्ख्यौली थलो काठमाडौं मरु गणेशस्थान भए पनि हजुरबुबाको व्यापारको सिलसिलामा परिवार सिन्धुपाल्चोक आएको थियो। आज उनका सम्पूर्ण परिचय, संघर्ष र सफलता यही जिल्लाबाट सुरु हुन्छ।
बाह्रबिसेस्थित केतु इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ८ सम्म अध्ययन गरेका विकेश कुथुले त्यसपछि श्री शारदा माविबाट एसएलसी दिए। हाल उनी परिवारसँगै ललितपुरमा बस्दै आइरहेका छन्। बाह्रबिसेमा फुटबलको चर्चा हुँदा विकेश कुथुको नाम पनि गर्वका साथ लिइन्छ।
उनको परिवार नै खेलकुदप्रेमी थियो। बाबु-आमा भलिबल खेलाडी थिए भने मामा बालगोपाल श्रेष्ठ एपिएफ क्लबका फुटबल खेलाडी थिए। दाजु बीएम कुथु एन्फा खेलाडी र फुपू रूपा कुथु महिला राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी। दाजु र मामाले उनलाई फुटबल सिकाएका थिए। दाइले फुटबल खेल्दा हात भाँचेकाले आमालाई डर डर हुन्थ्यो तर बुबाले भने सधैं फुटबलमा प्रोत्साहन दिनुहुन्थ्यो। मैदान नहुँदा अभ्यासका लागि बाह्रबिसे बाट ७ कि.मी. दुर लामोसाँघु पुग्ने विकेशका लागि त्यो संघर्ष थालनी मात्रै थियो।
स्कुलमा डिफेन्डरका रूपमा फुटबल सुरु गरे। अरु भन्दा उचाइ अग्लो भएको कारण गोलकिपरको जिम्मेवारी सम्हाल्थे। उनले विद्यालय स्तरीय खेलबाट फुटबल करियर सुरु गरे। सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने विभिन्न प्रतियोगिताहरुमा उनले मौका पाउँदै गए। यसरी उनी ८-९ कक्षाको सानो उमेरमै जिल्लास्तरीय फुटबलमा खेल्दै खेलाडी बनिसकेका थिए। यसरी स्कुलबाट जिल्लास्तरीय खेलहरु खेल्दै काठमाडौं आएर कोकाकोला कप समेत खेले।
विकेशका दाजु बी.एम. कुथु र मामा बालगोपाल श्रेष्ठ जिल्ला स्तरका अब्बल खेलाडी थिए। सिन्धु कपजस्ता प्रतियोगितामा यी ३ मामा–भान्जा एउटै टिमबाट खेल्थे। मामा चर्चित खेलाडी भएकाले २ दाजुभाइलाई ‘भान्जा’ भनेर चिनिन्थ्यो। सबैभन्दा कान्छो भएकाले विकेशलाई ‘सानो भान्जा’ भनेर सम्बोधन गर्थ्यो।दोस्रो सिन्धु कपमा उनी उत्कृष्ट गोलकिपर बने। त्यसबेला उनको टिम बाह्रबिसे युथ क्लब ले उपाधि जित्न नसके पनि विकेशले पाएको व्यक्तिगत सम्मान (उत्कृष्ट गोलकिपर) उनको करियरको महत्वपूर्ण सुरुवात बन्यो।
विकेश कुथुले जिल्लास्तरीय विभिन्न फुटबल प्रतियोगितामा निरन्तर खेले। तर उनले सबैभन्दा ठूलो चिनारी पाए सिन्धुपाल्चोकको इतिहासमा प्रतिष्ठित मानिएको सिन्धु-भोटेकोसी कप फुटबल प्रतियोगिताबाट। पहिलो संस्करणमा उनले प्रतिनिधित्व गरेको स्थानीय सुनकोसी क्लब ले त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, र हिमालयन शेर्पा जस्ता शीर्ष ए डिभिजन क्लबलाई हराउँदै उपाधि जित्यो।
त्यो सफलता विकेशका लागि महत्वपूर्ण मोड बन्यो। जसले उनलाई राष्ट्रियस्तरमा चिनायो। स्थानीय टिमले ट्रफी उचाल्दा कुथुका मामा-भान्जा ‘नायक’ नै बनेका थिए। त्यस खेल हेर्नका लागि सारा गाउँले नै उल्टिएर मैदानमा पुगेका थिए।
त्यसपछिका यस प्रतियोगिताका अन्य चार संस्करणहरूमा पनि उनले निरन्तर उपस्थिति जनाए। मामा–भान्जा दुवैको खेलप्रति स्थानीयहरुको चासो बढ्दै गयो। वरपरका गाउँलेहरु लामोसाँघुको बसन्तपुर मैदान पुग्ने गर्थे। उनीहरू विकेशलाई “सानो भान्जो” भनेर चिन्थे। र धेरैले भविष्यवाणी गर्थे: “सानो भान्जो एकदिन पक्कै ठूलो स्थानमा पुग्नेछ।”
दाइ बीएम कुथुले फुटबल छाडेपछि विकेशले उनको ठाउँ लिए। सिन्धु कप खेलेर प्लस टु सकेपछि पढाइ र फुटबलको दोधारमा परे। आमाको इच्छाले विदेश पढ्न काठमाडौं आए, तर राष्ट्रिय टिमसम्म पुग्ने सपना थिएन। संयोगले फुटबलर साथीहरू बने, र उनले विदेशको सपना त्यागेर फुटबलमै होमिए। कलेज खेलहरूबाट उनको फुटबल यात्राले नयाँ मोड लियो।
सरस्वती युथ क्लबका कोचले कुथुको खेल मन पराएछन्। एक दिन उनले ट्रायलमा आउन प्रस्ताव गरे। साथीहरूले पनि साथ दिए। ट्रायल सफल भएपछि उनी क्लबमा आबद्ध भए र २०६७ सालमा शहीद स्मारक ए डिभिजन लिगमा सरस्वती क्लबबाट डेब्यु गरे। पहिलो सिजनमै ठूला क्लबहरूसँगको खेलमा राम्रो प्रदर्शन गरेपछि उनको चर्चा बढ्न थाल्यो।
त्यसपछि ललितपुरको थ्रीस्टार क्लबले नकआउट प्रतियोगितामा खेल्न बोलायो। त्यो समय राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ व्यस्त थिए, जसले गर्दा कुथुलाई अवसर मिल्यो। यद्यपि, थ्रीस्टारको मुख्य टिममा भने परेनन्। त्यसपछि उनी अन्य क्लब हुँदै अन्ततः नेपाल आर्मी क्लबमा पुगे।
कुथुलाई राष्ट्रिय स्तरमा चिनाउने मुख्य योगदान पूर्व कप्तान तथा गोलकिपर उपेन्द्रमान सिंहको रह्यो। क्लब र राष्ट्रिय टिम दुवैमा संगै रहँदा उनले सिंहबाट धेरै कुरा सिके। त्यसैले उनी उपेन्द्रमानलाई आफ्नो ‘आइडल’ मान्छन्। सिन्धुपाल्चोकमा हुने सिन्धु कप खेल्न हिमालयन शेर्पा क्लब पुगेको थियो, त्यस क्लबका प्रशिक्षक उपेन्द्रमान थिए। त्यहीँ उनले कुथुको प्रतिभा देखे। नकआउट प्रतियोगिता खेल्न थ्रीस्टार क्लब पुगेका कुथुलाई उपेन्द्रमानले राष्ट्रिय लिग खेल्न हिमालयन शेर्पाबाट बोलाए। कुथुले सहर्ष स्वीकारे र २०६८ सालमा क्लबमा आबद्ध भए। त्यस वर्ष हिमालयन शेर्पा दोस्रो भयो, तर कुथुको प्रदर्शनले धेरैको ध्यान खिच्यो। त्यसकै आधारमा २०६९ मा उपेन्द्रमानकै अर्को क्लब मध्यपुर ए डिभिजनमा उक्लिएपछि उनी पहिलो रोजाइको गोलरक्षक बने। त्यही वर्षको एनसेल कपमा कुथु मध्यपुरबाट खेल्दै प्रतियोगिताका सर्वोत्कृष्ट गोलरक्षक बने।
मध्यपुरमा देखाएको उत्कृष्ट प्रदर्शनपछि विकेश कुथु अखिल नेपाल फुटबल संघ (एन्फा) को नजरमा परे। त्यस समयमा राष्ट्रिय टिममा किरण चेम्जोङ, विकास मल्ल, रितेश थापा जस्ता अनुभवी गोलकिपरहरू थिए, जसले गर्दा कुथुको अवसर कम थियो। तर संयोगले ढोका खोलिदियो-विकास मल्ल घाइते भए र टिमले अनिवार्य तीन जना किपर लैजाने निर्णय गर्यो। यसै क्रममा विकेश पनि राष्ट्रिय टिममा परे। खेलको दुई दिनअघि किरण चेम्जोङ बिरामी परे, उनले खेल्न सकेनन्। रितेश थापा सुरुवातमा मैदानमा थिए, तर ३५ मिनेट बाँकी हुँदा उनी पनि घाइते भए। त्यसपछि कुथुलाई डेब्यू गर्ने मौका मिल्यो। खेल राम्रै भयो, यद्यपि त्यसमा थापामाथि म्याच फिक्सिङको आरोप समेत लाग्यो। त्यसरी राष्ट्रिय टिममा कुथुको यात्रा सुरु भयो।
२०७० सालमा मध्यपुर क्लब छाडेर उनी एक सिजनका लागि जावलाखेल पुगे। त्यसपछि २०७१ मा त्रिभुवन आर्मी क्लबको गोलपोस्ट सम्हाल्ने मौका पाए। त्यही लिगमा आर्मीलाई दोस्रो स्थानमा पुर्याए र सबैभन्दा कम गोल खाने गोलरक्षकको कीर्तिमान राखे। २०७४ सालमा त उनले पेनाल्टीमा ६ खेलमा पेनाल्टी सुटआउटको क्रममा आर्मी टिमलाई जित दिलाएका थिए। जसमा ४ खेल त फाइनल नै थिए।
कुथुले ठूलो पहिचान पाएको प्रतियोगिता बंगबन्धु गोल्डकप पनि एक हो। सागको तयारीको रूपमा गएको उनको टिमले उत्कृष्ट समन्वय देखायो। तर उपाधि जित्ने लक्ष्य भने थिएन, कम्तिमा सेमिफाइनल पुग्ने भन्ने थियो। अनि टिममा भने गजबको एकता थियो। किरण चेम्जोङ अनुपस्थित हुँदा कुथुले नेपालको गोलपोस्ट सम्हाले। नेपालले २३ वर्षपछि उपाधि जित्यो, जसमा कुथुको योगदान महत्त्वपूर्ण रह्यो।
गुवाहाटीमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा भने नेपालको लक्ष्य उपाधि नै थियो। त्यतिबेला देशमा नाकाबन्दी थियो र टिममा एकजुटता अनि बंगबन्धु जितेर आएको जोश पनि थियो। नभन्दै नेपालको टिम फाइनलमा पुग्यो। साग गेमको फाइनलअघि नेपालको राष्ट्रगान भारतले बीचमै रोकेको घटनालाई कुथुले कहिल्यै नबिर्सने स्मृति मान्छन्। “हामीले आफैँ गाएर राष्ट्रगान पूरा गर्यौं, अनि आत्मसम्मानका लागि खेल्यौँ,” उनी सम्झिन्छन्।
त्यही खेलमा कुथुले भारतीय खेलाडीको कडा प्रहार सानदार बचावट गर्दै नेपाललाई स्वर्ण पदक दिलाउन ठूलो भूमिका खेले। यसरी नेपाली टिमले भारतलाई उसकै मैदानमा हराएर उपाधि जित्यो र सिंगै देश खुसी बनायो। त्यसपछि एएफसी सोलिडारिटी कप र नेपालमै भएको १३औं साग पनि कुथु सम्मिलित टिमले नै जित्ये। उनको लागि सबैभन्दा ठूलो कुरा, सबै प्रतियोगिता जित्दा कुथु टिमको सदस्य थिए। त्यसैले उनी भन्छन्, “शायद म देशका लागि लक्की नै हुँ जस्तो लाग्छ।”
राष्ट्रिय टिमको जर्सी लगाएर मैदानमा उत्रिँदा उनलाई ‘आउट अफ दिस युनिभर्स’ भन्ने जस्तो अनुभूति हुन्छ। पहिलो पटक राष्ट्रिय टिमबाट खेल्दा नेपालको राष्ट्रिय गान बज्दा आँशु खसेको क्षण अझै झल्झली सम्झिन्छन् उनी। नेपालमा लिग फुटबलको चर्चा शिखरमा पुगेको बेलामा नेपाली टिमले एक उत्कृष्ट गोलरक्षक पायो -विकेश कुथु। अनुशासन, लगाव र निरन्तर मेहनतजस्ता खेलाडीका आधारभूत गुणहरू कुथुमा सानैदेखि देखिन्थे। त्यही गुणहरूले उनलाई राष्ट्रिय टिमसम्म पुर्यायो।
एउटा समय थियो, जब आमाको चाहना थियो -छोरो विदेश जाओस्, राम्रो कमाओस्। तर आज, उनी जहाँ छन्, जे छन्, त्यसमा आमालाई कुनै गुनासो छैन। आज धेरैले “विकेशको आमाबुबा” भनेर चिनेको देख्दा त्यही खुशी आफैँमा विकेशका लागि सबैभन्दा ठूलो पुरस्कार बनेको छ। पढाइमा उनी त्यति कमजोर पनि थिएनन्। तर करियरको रूपमा फुटबललाई प्राथमिकता दिएपछि पढाइमा ध्यान कमिँदै गयो। खेल र परीक्षा एकैपटक पर्दा पढाइ छुट्दै गयो। बिचमा पढाइलाई निरन्तरता दिने प्रयास गरे पनि सम्भव भएन। तर अहिले पनि उनको चाहना छ -रिटायर भएपछि फेरि पढ्न सुरु गर्ने।
सानैदेखि उनको चाहना थियो -खेलाडी या आर्मी बन्ने। अहिले ती दुवै सपना पूरा भएका छन्। आर्मी नबनेपनि लगभग १२ वर्षदेखि उनी नेपाल आर्मी क्लबमा खेलिरहेका छन्।
अहिलेसम्मको यात्रा र अधुरो सपनामा मध्यपुर क्लबलाई ए डिभिजनमा टिकाउन नसकेको, र आर्मी क्लबलाई ए डिभिजनको उपाधि जिताउन नसकेको कुरा उनको मनमा अझै खट्किन्छ। तर उनी भन्छन् -“चान्स अझै छ।” त्यसैले अझै पनि उनी मैदानमा मेहनत गरिरहेका छन्।
देशका लागि खेल्न पाउनु उनका लागि सबैभन्दा ठूलो गर्वको कुरा हो। राष्ट्रिय टिमबाट खेलेको पल, र राष्ट्रिय गान बज्दा बगेका आँशु अझै पनि उनको मनमा ताजा छन्।
अहिलेसम्म पनि उनी थाकेका छैनन्। फेरि एक पटक राष्ट्रिय टिमबाट देशलाई योगदान दिने चाहना राख्छन्। उदीयमान गोलरक्षकहरूलाई पनि अवसर दिनुपर्छ भन्ने मान्यता राख्ने कुथु अझै मैदानमा योगदान दिइरहने लक्ष्यसहित अगाडि बढिरहेका छन्।
वास्तवमा, विकेश कुथुको जीवनले देखाउँछ -यदि मन साच्चिकै केहि गर्ने हो भने, समय लाग्छ, गाह्रो पर्छ, तर सम्भव भएरै छाड्छ। तर अनुशासन र मेहनत भने अपरिहार्य छ।
प्रतिक्रिया दिनुहोस्