२०८१ चैत्र ११
                           

विकास भनेको केवल बाटो निर्माण मात्र होईन, जुगल गाउँपालिका अध्यक्ष, रेशम स्याङ्बो

सिन्धुपाल्चोक – “सामाजिक न्याय सहितको समृद्ध जुगल” नारासहित आयोजित तीन दिने आवासीय महिला आत्मरक्षा तालिम सफलतापूर्वक सम्पन्न भएको छ। जुगल गाउँपालिकाको आयोजनामा तालिम सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चोैतारामा सम्पन्न भएको हो।

तालिमका प्रमुख प्रशिक्षक सीता माया बुलुनले जुगल गाउँपालिकाले आत्मरक्षा जस्तो विषयमा कार्यक्रम सञ्चालन गरेकोमा खुसि व्यक्त गर्दै  सहभागीहरूले छोटो समयमा धेरै ज्ञान र सीप हासिल गरेको कुरा व्यक्त गर्नु भएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले पनि कार्यक्रममा आफ्नो मन्तव्य राख्दै यो कार्यक्रमले आत्मविश्वास विकास गर्नु महत्त्वपूर्ण भुमिका खेल्ने कुरा व्यक्त गर्दै शिक्षित होईन नैतिक ज्ञान भएको जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर वि.कले भने यस्ता कार्यक्रम मानवीय र सामाजिक विकासका लागि महत्त्वपूर्ण रहेको र २० जना सहभागीबाट सुरु भएको यो ज्ञान ५ हजार  विद्यार्थीहरू सम्म पुर्‍याउनुपर्ने अपेक्षा रहेको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराउदै आयोजक प्रति धन्यवाद व्यक्त गर्नु भयो ।

गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले विकास भनेको केवल बाटो निर्माण मात्र होईन भन्दै   जुगल गाउँपालिकाले महिलाहरूको आत्मनिर्भरताका लागि निरन्तर काम गरिरहेको उल्लेख गरि गाउँपालिका सकारात्मक दिशा तर्फ अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रम संयोजक रूपक दुलालले तीन दिनसम्मको तालिमले सहभागीहरूमा आत्मविश्वासको विकास गरेको बताउनुभयो । उहाँले तालिमको क्रममा सिकेको ज्ञान तथा क्षमता व्यक्तिमा मात्र सिमित नराखी समाजमा पुर्‍याउन आग्रह गर्नुभयो ।

तालिममा महिलाहरूलाई आपत्कालीन अवस्थाहरूमा कसरी आफ्नो सुरक्षा गर्ने, आत्मरक्षाका व्यावहारिक तरिकाहरू, तथा मानसिक रूपमा तयार रहने उपायहरू सिकाइएको थियो। सहभागीहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्