सिन्धुपाल्चोक — केही दिनअघि चौतारा अस्पतालको अवलोकन भ्रमणका क्रममा देखिएका समस्या र चुनौतीहरू समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी महिला सशक्तीकरण तथा बालबालिका उत्थान समाजकी केन्द्रीय अध्यक्ष सरोज श्रेष्ठले आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक रूपमा ध्यानाकर्षण गराएकी छन् ।
अध्यक्ष श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत चौतारा अस्पतालमा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ तथा एनेस्थेसियोलोजिस्टजस्ता अत्यावश्यक चिकित्सकहरूको तत्काल व्यवस्था गर्न आग्रह गरेकी छन् । साथै, ल्याप्रोस्कोपिक सेट र एन्डोस्कोपिक सेटजस्ता महत्वपूर्ण उपकरणहरूको अभावले सेवा प्रवाह प्रभावित भइरहेको भन्दै आवश्यक व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।
पत्रमा उल्लेख गरिएअनुसार सिन्धुपाल्चोकको सदरमुकाम चौतारा स्थित ५० शय्याको प्रादेशिक अस्पतालले दैनिक करिब २ सय ८० जना बिरामीलाई सेवा दिँदै आएको छ, जसमा अधिकांश महिला तथा बालबालिका रहेका छन्। तर, विशेषज्ञ चिकित्सक र आधुनिक उपकरणको अभावका कारण अस्पतालले आधारभूतदेखि जटिल अवस्थासम्मका बिरामीलाई अन्य जिल्ला वा काठमाडौं रेफर गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरिएको छ ।
यस अवस्थाले स्थानीय नागरिकहरूलाई आर्थिक भार, समयको नोक्सानी तथा स्वास्थ्य जोखिम बढाएको भन्दै पत्रमा तत्काल जनशक्ति र उपकरण व्यवस्थापन आवश्यक रहेको जोड दिइएको छ ।

पत्रमा विशेषगरी स्त्रीरोग विशेषज्ञ एक जना, बालरोग विशेषज्ञ एक जना, एनेस्थेसियोलोजिस्ट एक जना, ल्याप्रोस्कोपिक सेट र एन्डोस्कोपिक सेट उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
यसअघि अस्पताल अवलोकनका क्रममा अध्यक्ष श्रेष्ठले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा देखिएका चुनौतीहरू सम्बन्धित निकायसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उनले विशेषगरी महिला तथा बालबालिकामैत्री स्वास्थ्य सेवामा सुधार आवश्यक रहेको बताउँदै सम्बन्धित पक्षसँग समन्वय गरेर समाधान खोजिने उल्लेख गरेकी थिइन् ।
आज औपचारिक ध्यानाकर्षण पत्रलाई सोही प्रतिबद्धताको निरन्तरताको रूपमा हेरिएको छ । स्थानीय स्तरमा भने यो पहललाई अस्पताल सुधारतर्फको सकारात्मक कदमका रूपमा स्वागत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्