२०८३ जेष्ठ ११

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको ३०औँ वार्षिक साधारणसभा सम्पन्न

निर्मल बस्नेत, चौतारा | नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको ३०औँ वार्षिक साधारणसभा आइतबार चौतारामा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा जिल्लामा क्रियाशील विभिन्न पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा शाखाले पत्रकारहरूको हितका लागि २ लाख रुपैयाँको कल्याणकारी कोष स्थापना गर्ने घोषणा गरेको छ । शाखा अध्यक्ष ध्रुव दंगाल ले वर्तमान कार्यकालभित्र उक्त कोषलाई १० लाख रुपैयाँसम्म पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए । उनले यो कार्यकाललाई पत्रकारहरूको क्षमता अभिवृद्धिको वर्षका रूपमा अघि बढाइने पनि बताए ।
साधारणसभामा विभिन्न विधामा पत्रकार तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । ‘सिन्धु पत्रकारिता सम्मान’ बाट महासंघका पूर्वअध्यक्ष पवित्रकुमार खड्का सम्मानित भए। त्यसैगरी ‘इश्वरीमान श्रेष्ठ र राम केशी स्मृति पत्रकारिता सम्मान’ बाट फोटो पत्रकार तथा जिल्लाको पहिलो टेलिभिजन जुगल टिभीका सञ्चालक होमनाथ कट्टेल किशोर र महासंघका पूर्वउपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्य ज्ञानेन्द्र प्रसाद तिमल्सिना सम्मानित भएका हुन् ।
त्यस्तै ‘कञ्चन–ज्ञानेन्द्र स्मृति पुरस्कार’ शाखा समितिका पूर्व सदस्य तथा सिन्धुज्वाला साप्ताहिकका सम्पादक दिनेश दुलाल लाई प्रदान गरिएको थियो भने ‘दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार’ बाट कान्तिपुर टेलिभिजनमा कार्यरत रुपक कोइराला सम्मानित भए ।
यसैगरी ‘रामप्रसाद घिमिरे स्मृति पत्रकार पुरस्कार’ जगन्नाथ दुलाल, ‘कृष्णमाया घिमिरे स्मृति पुरस्कार’ शर्मिला ठकुरी, ‘नानीराम नेपाल स्मृति क्रियाशील युवा पत्रकारिता पुरस्कार’ चित्र मिजार तथा ‘जुगल नमोदित पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका जिल्ला संवाददाता अनिष तिवारी लाई प्रदान गरिएको थियो ।


त्यस्तै ‘सर्वपक्ष युवा पत्रकारिता पुरस्कार’ बाट नमोबुद्ध एफएम तथा मिलिजुली डटकममा कार्यरत प्रकाश सुन्दास सम्मानित भए । सम्मानित सबैलाई जनही ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
पुरस्कार तथा सम्मान प्रमुख अतिथि नगर प्रमुख कृष्णप्रसाद सापकोटा ले वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले शक्तिशाली राष्ट्रहरूको प्रभाव र प्रतिस्पर्धाका कारण राष्ट्रिय राजनीतिमा अस्थिरता बढिरहेको बताए । वर्तमान परिस्थितिमा छिमेकी राष्ट्र, सेना, प्रहरी तथा सरकारको भूमिकाप्रति नागरिकको चासो बढेको उनको भनाइ थियो ।


नगरप्रमुख सापकोटाले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अनावश्यक अंकुश लगाएको आरोप समेत लगाए । उनले जनताको हकअधिकार र कानुनी दायित्वमाथि हस्तक्षेप हुन नहुनेमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि रामकृष्ण अधिकारी ले ७ दशकभन्दा लामो इतिहास बोकेको पत्रकार महासंघ नागरिक अधिकार र लोकतान्त्रिक आन्दोलनको अग्रपंक्तिमा रहेको बताए । उनले सरकारी विज्ञापनमा लगाइएको रोक संघीयताको मर्मविपरीत भएको टिप्पणी गर्दै सञ्चारमैत्री कानुन निर्माणको आवश्यकता औंल्याए ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा ले संविधान र नागरिक अधिकारको पक्षमा महासंघले खेलेको भूमिकाको प्रशंसा गरे । उनले राज्य, सरकार र नागरिकबीच सहकार्यबाट मात्रै सुशासन र पारदर्शिता कायम गर्न सकिने धारणा राखे ।
बागमती प्रदेश सरकारका प्रेस रजिस्ट्रार रेवती सापकोटा ले डिजिटल प्रविधिसँगै बढ्दो ‘डिपफेक’ समस्याप्रति चिन्ता व्यक्त गर्दै सिर्जनात्मक र खोजमूलक पत्रकारितामा केन्द्रित हुन सञ्चारकर्मीलाई आग्रह गरे ।
महासंघका संस्थापक संयोजक विष्णु न्यौपाने ले पत्रकार समाजको प्रश्न उठाउने तहमा सधैं सक्रिय रहनुपर्ने बताए। उनले पत्रकार कल्याण कोषका लागि ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै आगामी वर्षदेखि १५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार कोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्मानित व्यक्तिहरूको तर्फबाट बोल्दै पूर्वअध्यक्ष पवित्रकुमार खड्काले सिन्धुपाल्चोकको पत्रकारिताको सुरुआती संघर्षपूर्ण इतिहास स्मरण गर्दै पत्रकारिताको मर्यादा र विश्वसनीयता जोगाउन महासंघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
साधारणसभामा सचिव टीका सुवेदी र कोषाध्यक्ष दीपक खत्री ले प्रस्तुत गरेको संस्थागत तथा आर्थिक प्रतिवेदन बहुमतले पारित गरिएको थियो । अध्यक्ष ध्रुव दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिपक अर्याल ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी महासंघका सदस्यलाई पत्रकारितासम्बन्धी पुस्तक तथा रिपोर्टिङ सामग्री बोक्ने झोला वितरण गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्