२०८३ जेष्ठ २२

दोस्रो नगर स्तरीय टेबल टेनिस प्रतियोगिता २०८३ सम्पन्न

सिन्धुपाल्चोक जिल्लामा दोस्रो नगर स्तरीय टेबल टेनिस प्रतियोगिता-२०८३ सम्पन्न भएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्य तथा पूर्व टेबल टेनिस खेलाडी एवं वरिष्ठ पत्रकार सुरेश कसजूको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग र जिल्ला टेबल टेनिस संघ, सिन्धुपाल्चोकको आयोजना सम्पन्न भएको हो ।

प्रतियोगितामा पुरुष एकलतर्फ ज्वयल नेपाली प्रथम, मिलन लामा द्वितीय तथा पुकार उप्रेतीले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । त्यस्तै पुरुष डबल्सतर्फ मिलन लामा र आनन्द धितालको जोडी प्रथम, दुर्गा प्रसाद दुंगेल र पुकार उप्रेतीको जोडी द्वितीय तथा ज्वयल नेपाली र विजय नेपालीको जोडी तृतीय स्थानमा रहे ।
कार्यक्रममा प्रमुख अतिथि रमेश श्रेष्ठले खेलकुदको विकासले युवाहरूलाई अनुशासित, स्वस्थ र सक्षम बनाउने उल्लेख गर्दै स्थानीय तहले यस्ता प्रतियोगितालाई निरन्तर प्रोत्साहन गर्ने बताए । त्यसैगरी विशेष अतिथि सुरेश कसजूले टेबल टेनिस जस्ता खेलहरूको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको धारणा व्यक्त गर्दै खेलाडीहरूलाई निरन्तर अभ्यासमा लागिरहन आग्रह गरे ।
संघका अध्यक्ष मिलन लामाले जिल्लामा टेबल टेनिस खेल क्रमिक रूपमा हराउँदै गएको अवस्थामा संघका साना गतिविधि तथा कार्यक्रमहरूले समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । उनले सम्भव भएसम्म आगामी दिनहरूमा विद्यालय स्तरमै टेबल टेनिस खेलको विकास गर्ने लक्ष्य रहेको जानकारी समेत गराए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित पदक, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्