सिन्धुपाल्चोक — चौतारा अस्पताल, सिन्धुपाल्चोकमा आज एक विशेष कार्यक्रमको आयोजना गरी अस्पतालको हालको अवस्था, प्राप्त उपलब्धिहरू र आगामी योजनाहरूको समिक्षा गरिएको छ। कार्यक्रम अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीको अध्यक्षतामा तथा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो।।
स्वास्थ्य मन्त्री थापाले लामो समयदेखि नेपाल सरकारसँग सहकार्य गर्दै आएको विश्व स्वास्थ्य संगठन (WHO) ले स्वास्थ्य प्रवर्द्धनमा पुर्याएको योगदानको प्रशंसा गर्दै नेपालमा ७० प्रतिशतभन्दा बढी मृत्यु नसर्ने दीर्घरोगबाट हुने गरेको र यसलाई नियन्त्रण गर्न स्वास्थ्य सेवा पहुँचमा वृद्धि गर्नु अपरिहार्य रहेको बताए। उनले निःशुल्क औषधि वितरण भएपनि जनसंख्याको चापले गर्दा माग परिपूर्ति गर्न नसकिएको भन्दै सरकारलाई आवश्यक औषधि व्यवस्थापन तथा परिपुर्ति गर्ने निरन्तर प्रयासमा रहेको उल्लेख गरे। साथै सरकारको लक्ष्य आम नागरिकले स्वास्थ्यजस्तो आधारभूत सेवाका लागि खर्च गर्न नपर्ने अवस्था सिर्जना गर्नु गरेको थापाको भनाइ छ।
कार्यक्रममा मन्त्री थापाले चौतारा अस्पतालको स्तरवृद्धिसँगै यहाँका सेवाले जिल्लावासीको विश्वास जित्न सफल भएको बताए। केही वर्षअगाडि रिफर मात्रै गर्ने अस्पतालको रूपमा रहेको चौतारा अस्पताल अहिले प्रदेशस्तरीय सेवा दिनसक्ने संस्थाका रूपमा विकसित हुँदै गएको र सरकार लगायत सिंगो मन्त्रालय अस्पताललाई आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी दिए।
कार्यक्रममा विशेष अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री माननीय युवराज दुलाल, प्रदेशसभा सदस्य अमृता नेपाल, स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, WHO नेपाल प्रमुख डा. राजेश पाण्डप, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्की, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्