सिन्धुपाल्चोक। जुगल गाउँपालिका-४, घुङास्थित श्री आदर्श आधारभूत विद्यालयमा वार्षिक अभिभावक भेला तथा विद्यार्थीलाई स्वेटर र शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कातुचे मानव सेवा तथा सामाजिक विकास फाउन्डेसनको सहयोगमा विद्यार्थीहरूलाई जाडो मौसममा सहज रूपमा पठनपाठन गर्न सहयोग पुर्याउने उद्देश्यले विद्यालय पोसाकअनुसारका स्वेटर तथा कापी, कलम, पेन्सिललगायत शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा जुगल गाउँपालिका-४ का वडाध्यक्ष प्रेम तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष जयबहादुर तामाङ, उपाध्यक्ष अजय तामाङ, सचिव तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश लामा, फाउन्डेसनका प्रतिनिधि सञ्जय तामाङ, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता थियो ।

कार्यक्रममा फाउन्डेसनका सचिव दिनेश लामाले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शैक्षिक सामग्रीबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यस मानवीय कार्यमा फाउन्डेसनका अध्यक्ष जयबहादुर तामाङको विशेष योगदान रहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे ।
फाउन्डेसनले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा आवश्यकतामा रहेका व्यक्ति र समुदायलाई सहयोग गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । उक्त कार्यक्रमले विद्यार्थीको अध्ययनप्रतिको उत्साह बढाउनुका साथै विद्यालय, अभिभावक र सामाजिक संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्