२०८२ कार्तिक ३

विपद् स्वयंसेवकहरुको लागि क्षमतावृद्धि तालिम सम्पन्न

चौतारा – खोज, उद्धार तथा प्रारम्भिक उपचारसम्बन्धी क्षमता अभिवृद्धि तालिम चौतारा साँगाचोकगढी नगरपालिका नगर सभा हलमा सम्पन्न भएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा र चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा असार १५ देखि १७ गतेसम्म तीन दिने तालिम सञ्चालन गरिएको हो।

उक्त तालिममा स्वस्थ्य कर्मी र स्वयंसेवकहरुको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरुले विपद् व्यवस्थापनका सैद्धान्तिक र व्यवहारिक पक्षहरु बारे गहिरो अध्ययन गरेका थिए। तालिमबाट सबै वडामा रहेका सम्भावित जोखिमहरुको न्युनिकरण गर्न सकिने सुझाव पनि सहभागीहरुले दिएका छन्।

सहभागीहरुले तालिमको अवधि छोटो भएको र कार्यक्रमलाई केही समय अघि नै सञ्चालन गर्न सकिएको भए विपद् व्यवस्थापनमा अझ उपयोगी र प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए। उनीहरुले वडागत रूपमा स्वयंसेवक सुनिश्चित गरि सहभागी गराउनुपर्ने सुझाव समेत व्यक्त गरेका छन्। त्यसैगरी तालिमका प्रशिक्षक भारत प्रसाद कोइरालाले आफूले दिएको तालिमलाई व्यवहारमा उतार्न र नगरपालिकाको लगानीलाई फलदायी बनाउन सहभागीहरूलाई आग्रह गरे।

कार्यक्रमका सभापति प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाले समाजमा भ्रष्टाचार निकै बढेको उल्लेख गर्दै भने , “हामी यस्तो अवस्थामा पुगिसकेका छौँ जहाँ भगवानको दर्शन गर्नसमेत कमिशन दिनुपर्ने जस्तो अनुभव हुन थालेको छ,”। साथै, उनले सहभागीहरुलाई समाजमा गई निस्वार्थ भावना र मानवता लिएर उद्धार तथा सहयोगको कार्यमा जुट्न अनुरोध गरे। प्रमुख प्रशासकीय अधिकृत सापकोटाले सहभागीहरुलाई प्रेरणा दिँदै दुई–चार जनाको उदार र मानवताको रक्षा गर्न सके त्यो नै सबैभन्दा ठूलो उपलब्धि हुने कुरा समेत बताए।

तीन दिनसम्म सञ्चालन भएको यो तालिमले चौतारा साँगाचोकगढी नगर क्षेत्रका विपद् व्यवस्थापनमा प्रत्यक्ष संलग्न स्वयंसेवकहरूको सीप तथा आत्मविश्वासमा उल्लेखनीय वृद्धि गरेको आयोजकको विश्वास छ। यसले भाव दिनहरूमा विपद् बाट हुने क्षति कम गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्