२०८२ असार ३
                           

समृद्धिको कथामा नयाँ पात्र

  • कृष्णप्रसाद धिताल

हातमा पासपोर्ट अनि खल्तीमा कुनै खाडी मुलुकको भिसा लिएर जब देशको एक होनाहार युवा अन्तराष्ट्रिय विमास्थलमा प्रवेश गर्छ । परिवार देश अनि देशका नेता, देशको फोहोरी राजनीतिलाई सम्झेर भक्कानिन्छ, टिलपिल टिलपिल आँखाका आँशु लुकाउदै विमानमा आफ्नो सपना अनि परिवारको समृद्धिको लागि कहिल्यै नदेखेको नभोगेको मुलुक जान्छ र उतैको मुलुक बनाउँछ । यो नियतीले हामी नेपाली युवाहरुलाई आज पनि छोडेको छैन समस्या उही छ, परिवेश उहि छ पात्र उहि छन् । उही पुरानो कुहिसकेको कथा माथि कलाकारहरु अभिनय गरिरहेका छन् ।

दर्शक दिक्क छन् । कथामा नयाँपात्र खोजरहेका छन् । जसको कथा र अभिनयले दर्शकलाई निरन्तर हुटिङ र ताली गर्न मन लागिरहोस् । केहि पात्र दर्शकको नजरमा परेका छन् र त्यस्तै पात्रहरुको समूह बनाएर उनीहरुको अभिनय र कथा मज्जाले हेर्नै ठूलो सपना देखेका छन् । सायद यो सपना पूरा हुन्छ भन्ने आशामा दर्शक ढुक्क जस्तै छन् । किनकि पात्रहरु कुलमान घिसिङ, युवराज दुलाल, गोकर्ण बिष्ट लगायतहरुले अभिनय गर्दै छन् । कथा मजबुद बन्दैछ । यी पात्रहरु यस्ता पात्र हुन जो २४ घन्टा समय दिन सक्छन् । पसिना बगाउँछन्, योजना बुन्छन् कार्यन्यन गर्न दर्शकको साथसाथमा रहेर काम गर्छन् । कसैले कल्पनानै नगरेको काम देखाईदिन्छन् कुलमान देशलाई उज्यालो बनाईदिन्छन्, मुहारमा हाँसो ल्याईदिन्छन्, गोकर्ण विदेशीएका युवाहरुको मनमा बसिदिन्छन्, युवाका आँशु पुछिदिन्छन्, दलालको सातो लिन्छन् ।
युवराज नेपाली युवाको उर्जा हुन् । बालबालिकाको स्वास्थ्य जीवन र गुणस्तरीय शिक्षाको प्रर्बधन गर्न विद्यालय नर्स कार्यक्रम ल्याएका छन् । प्रतिभाशाली युवा बैज्ञानिकहरुलाई विदेश पलायन हुनबाट रोकी देशमै केहि गर्न युवा बैज्ञानिक प्रोत्साहन कोष ल्याएका छन्, सेवा प्रवाहमा चुस्तता र सुशासन कायम राख्नलाई थाहानै नदिई छड्के अनुगमनमा पुग्ने गरेका छन् र दर्शकका प्रिय पात्र हुन् युवराज, जसको अभिनयमा मोहित छन् दर्शक र ताली पिटिरहेका छन् । दर्शकको हुटिङले खलपात्रहरुको निद्रा हराम भएको छ । यहि पात्रसँगको दोस्रो यात्रा संस्मरणको नालीबेली बिस्तार गर्दैछु म ।

प्रदेश ३ मा रुचाईएका र आशालाग्दो पात्रको रुपमा देश सम्बृद्धिको कथामा प्रवेश गरेका पात्र हुन्, प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल । उनीसँगको दोस्रो भ्रमण गर्ने र उनको अभिनयलाई अझै नजिकबाट निहाल्ने अवसर प्राप्त भयो । र, खबर आयो पौष १० गते बेलुका, पौष ११ गते बिहान ठीक छ बजे काडाँघारी हरहर महादेब चोकमा भेट गर्ने । फोन आएसँगै मन उत्साहित थियो । मन्त्रीसँग घुम्न जाने कुराले यस अर्थमा उत्साहित थिए । कि नेतृत्बबाट वितृष्ण भइरहेको अवस्थामा उनी नेपाली राजनीतिका एक आशा लाग्दो युवा पात्र थिए । समयलाई इमान्दारिकपूर्वक पालन गर्ने उनले भनेकै समयमा हरहर महादेब चोकमै पुगें र प्रतिक्षा गरें । चिसो हावाले शरीरलाई चिसो बनाईरहेको थियो । कलेजका विद्यार्थीहरुको तछाडमछाड थियो कलेज जानको लागि गाडी चढन् । सहचालक पछाडि पछाडि भन्दै एकोहोरो कराईरहेका थिए । त्यहि दृश्यहरुले मोहित पारिरहेको थियो ।

त्यो दिन भनिएको भन्दा ४५ मिनेट ढिलो आयो गाडी । पहिल्यै प्रश्न गरें, ‘तपाईको समय फेल खायो ?’ प्रतिउत्तरमा मन्त्रीको जबाफ, ‘बिहानै पाँचै बजे केहि साथीहरु भेटघाटलाई आउनु भयो उहाँहरुसँग छलफल गर्दा ढिला भयो, कार्यक्रम आठ बजे हो हामी समयमानै पुग्छौ ।’ तपाई चिसोमा धेरै कुनुपर्यो भन्ने उत्तर आएपछि लाग्यो उहाँको काम त शुरु भैसकेछ । अनि भने ठीक छ कहिले काँही यस्तै हो । सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका वडा नम्बर ७ मा बन्न लागेको शीत भयडारको शिलान्यासमा तोकिएकै समयमा पुग्दा सुरसार केहि थिएन । हुस्सुले कार्यक्रम स्थल ढाकेको थियो । उनी पुगेपछि चलहपलह गर्न थाले आयोजक । आउन थाले मान्छेहरु । र, शुरु भयो कार्यक्रम । ७९ मिनेटको कार्यक्रम छोटो बन्यो र ६० मिनेटमा कार्यक्रम समापन भयो ।

अर्को कार्यक्रम थियो मेलम्चीमा । नेकपा मेलम्ची नगर कमिटीको आयोजनामा शपथ ग्रहण, पार्टी प्रवेश र आउँदै गरेका ल्होछार पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम । १०ः३० मा सिपाघाटमा खाना खाएर गाडी दौडियो । मेलम्चीमा हामी समयमानै पुगे पनि कार्यक्रम शुरु भएको थिएन । समयको महत्वलाई बुझन नसक्ने हामी नेपालीको रोग हटन सकेको छैन । ११ बजे बोलाईयो भने १ बजे मात्र आउने हाम्रो राष्ट्रिय रोगनै बनेको छ । जुन तोड्न पनि लागेका छन् मन्त्री दुलाल ।

कार्यक्रममा पुगेपछि थाहा भयो कार्यक्रमका प्रमुख अतिथी गोकर्ण बिष्ट र जनार्दन शर्मा त्यो सुनेर म थप उत्साहित भएँ । किनकी दर्शकले रुचाएका पात्रहरुसँग भेट हुने भयो । तर केहि समयको उत्साह निराशामा परिणत भयो । जब उद्घोषकले पार्टीले नेतृत्वलाई अकस्मात, काठमाडौ नछोडन निर्देशन दिएको कुराले, कार्यक्रम ढिलो गरि शुरु भयो । त्यो दिनमै पुग्नु थियो दोलखा जिरी, मन्त्रीले आफ्नो ब्यस्तताको कारण केहि महत्वपूर्ण कार्यक्रम सकेपछि मन्तब्य राखेर निस्किए । काम गरेर देखाउने समय हो भाषण गर्ने हैन भन्ने कुरालाई आत्मसाथ गरेका दुलालले लगभग १२ मिनेट मन्तब्य राखेपछि ३ः३८ मिनेटमा जिरी जानको लागि हामी निस्कियौ मेलम्चीबाट । जिरीको यात्रा मेरो तेस्रो पटक थियो तर यो पटक विशेष थियो । गाडीमा केहि साथीहरु थपिनु भयो रामकृष्ण न्यौपाने, पत्रकार दिपक न्यौपाने गरि सात जनाको टोली । यसले यात्रालाई थप रोमान्चित बनायो । मन्त्रीले मेलम्चीबाट हिँड्ने बेलामा जिरी हामी ९ः३० मा पुग्छौ जिरो किलोमा खाजा खाने योजना सुनाएसँगै चालक किरणले गाडीको गति बढाए । हामी भन्दा केहि मिनेट अगाडि दोलखाका प्रदेश सांसद् विशाल खड्का जिरोकिलोमा आईसकेका थिए । दुध र चिउरा खाएर यात्रा अगाडि बढायौ । गाडीमा राजनैतिक सामाजिक हाँसी मज्जाक गर्दै खाडीचौर जिरी सडक खण्डको नाजुक अवस्थाको बारेमा लामै बहस पनि गर्यौ । र, देश कसले चलाएको छ भन्ने कुरा समेत मन्त्रीलाई राख्यौं । उनले समस्या छ, समय लाग्छ, ठीक हुन्छ भने । गति अगाडी बढिरहेको थियो । हामी पुग्दा जिरीबजार निदाई सकेको थियो । हामी मन्त्रीले भनेकै समयमा नै जिरी बजार पुग्यौ । त्यहाँ पुग्दा आयोजक र सुरक्षाका प्रमुखहरु हाम्रो प्रतिक्षा गरिरहेका थिए । चिसो बढ्दै थियो केहि समयको छलफल पछि भोलि बिहानैदेखि कार्यक्रम भएकोले खाना खाएर ११ बजे सुत्यौं ।

भोलीपल्ट १२ गते बिहान ८ बजेबाट अनुगमन शुरु भयो । मौसम एकदमै चिसो थियो । डाँडामा घाम देख्दा पनि शरीर तातेको भान हुन्थ्यो । प्रदेश सरकारको एक जिल्ला एक रंगशाला योजना अन्तर्गत जिरीमा निमार्ण हुने रँगशालाको प्रस्तावित जग्गाको अबलोकन, नेपालको दोस्रो जिरी प्राविधिक शिक्षालयको अवस्थाको निरीक्षण, दोलखा जिल्ला अस्पतालको नयाँ बन्दै गरेको भवनको अबस्था कर्मचारीहरुको समस्या गुनासो र निर्देशन, गाई आनुवंशिक श्रोत केन्द्रको अवलोकन, जिरी सामुदायिक रेडियोमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गरेका गतिबिधीहरुको बारेमा रेडियो अन्तरवार्ता, शहिद आवासीय माविमा दोस्रो राष्ट्रपति रनिङशिल प्रतियोगिताको उद्घाटन, बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्रको अवलोकन, हिमालय हेल्थ केयर ह्यान्डस अस्पतालको अवलोकन र कर्मचारी व्यवस्थापनसँगको बैठक र अन्तिम अवलोकन बैतेश्वर गाँउपालिकामा पालिकाको निमार्ण भईरहेको भवन । ९ वटा कार्यक्रमको तालिका थियो ।

सबै अवलोकन गर्दा चार बजिसकेको थियो । गाँउघरमा हिँड्दा गाडीको कालो सिसा मन्त्रीले खुल्लै छोड्थे र सबैलाई नमस्कार गर्थे । नेताले चुनावको बेलामा मात्र नमस्कार गर्ने हुन् भन्ने भान भएका जनताहरु कति ठाँउमा अलमल समेत परेको भान हुँदै थियो मलाई । जनतासँग आत्मिय व्यहारमा समेत अब्बल छन मन्त्री दुलाल । पुग्नु थियो काठमाडौ, मन्त्रीका केहि साथीहरु उनलाई भेटन तामाकोशीमा कुरिरहेका थिए । पाँच बजे तामाकोशीमा भेटघाट गरि सुन्तला माछा गाडीमै हालेर हाम्रो बेग रामेछाप सिन्धुली हँुदै काठमाडौ आईपुग्ने तय भयो । मन्त्रीले तामाकोशीबाट हिँड्ने बेलामा भनेको थिए– ‘लगभग ९ः३० मा हामी काठमाडौ पुग्छौ ।’ तर भनिएको समयभन्दा पाँच मिनेट हामी अगाडिनै आईपुग्यौं ।

समृद्धि कथाका एक कुशल पात्र युबराज दुलालसँग म मन्त्रीका स्वकीय सचिव नवराज दाहाल, पत्रकार दिपक न्यौपाने, रामकृष्ण न्यौपाने, सुरक्षकर्मी गोबिन्द फुयाँल चालक किरण श्रेष्ठ । उनीसँगको यात्राले एउटा कुरा बुझायो कि समृद्धिको कथामा युवराज दुलाल, कुलमान, गोकर्ण, जर्नादन लगायत पात्रहरुलाई अभिनय गराउने हो भने सम्बृद्धि कथाले न्याय पाउँनेछ र दर्शकले लागातार ताली, हुटिङ र सिठ्ठी बजाईरहनेछन् । निरन्तर निरन्तर ………………………..
०००

प्रतिक्रिया दिनुहोस्