२०८३ बैशाख २२

चौतारामा आदिवासी जनजाति संस्कृति झल्काउने फुड फेस्टिबल, सँगै रक्तदान कार्यक्रम

चौतारा । सिन्धुपाल्चोकको चौतारामा आदिवासी जनजाति समुदायको संस्कृति, परम्परा र खानपानलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘फुड फेस्टिबल, स्थानिय उत्पादन प्रदर्शनी तथा संस्कृतिक महोत्सव २०८३’ आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न उक्त फेस्टिभलमा विभिन्न समुदायका परम्परागत परिकारसँगै सांस्कृतिक झल्को प्रस्तुत गरिएको थियो ।
फेस्टिबलमा नेवार, तामाङ, शेर्पा, गुरुङ, लगायतका समुदायहरूले आफ्ना विशेष परिकारहरू प्रदर्शन गरेका थिए । स्टलहरूमा राखिएका विविध जातीय खानाका परिकारहरूको स्वाद लिन सहभागीहरूको उल्लेखनीय भीड लागेको थियो । आगन्तुकहरूले परिकारहरू किन्नुका साथै स्थलमै बसेर स्वाद लिन सक्ने व्यवस्था गरिएको थियो ।


कार्यक्रममा सहभागीहरू आफ्ना पारम्परिक भेषभूषामा सजिएर उपस्थित भएका थिए । परम्परागत नाचगान, गीत–संगीत र लोकसंस्कृतिको प्रस्तुतीले फेस्टिभललाई अझ जीवन्त बनाएको थियो ।


चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले यस्ता कार्यक्रमहरूले जनजाति समुदायको मौलिकता उजागर गर्ने र नयाँ पुस्तालाई आफ्नो संस्कृति चिनाउने महत्वपूर्ण माध्यम बन्ने बताए । उनले नेपाल एक विविधको बिचमा फुलेको एक सुन्दर एकताको फुल रहेको बताउदै एकता र राष्ट्रियताको साथसाथै आफ्नो समुदाय, समाज र जातीय संस्कृति र परम्पराको संरक्षण गर्न पनि आवश्यक रहेको बताए ।


उपप्रमुख सिता थापाले फेस्टिबलले आदिवासी जनजातिको खानपान संस्कार, सांस्कृतिक सम्पदा र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् । उनले जनजातिको अधिकार र संस्कृति संरक्षणका लागि रहन सहन र रीतिरिवाज केन्द्रित मात्र नभई निति तथा कार्यक्रममा समावेश गर्ने कुरामा जोड दिन आवश्यक रहेको बताइन् ।


यसैबीच, कार्यक्रमसँगै ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोकको आयोजनामा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)का अध्यक्ष सुरेश कसजुले रक्तदान जीवन बचाउने महान कार्य भएको उल्लेख गर्दै यस्ता सामाजिक अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।


सिन्धुपाल्चोक जिल्ला विभिन्न आदिवासी जनजातिको बसोबास रहेको क्षेत्र हो, जहाँ प्रत्येक समुदायको आफ्नै भाषा, संस्कृति, रहनसहन र खानपानको विशिष्ट शैली पाइन्छ । यस्ता फुड फेस्टिबलहरूले ती विविधतालाई सार्वजनिक गर्दै आपसी समझदारी र सहअस्तित्वलाई मजबुत बनाउने आयोजकहरूको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्