सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ जलविरेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र बलेफी गाउँपालिकाको समन्वयमा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक–कान–घाँटी, आँखा, दाँत तथा मुख रोग, क्षयरोग स्क्रिनिङ, एक्स–रे सेवा, स्त्री तथा प्रसूति सेवा, स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श र औषधि वितरण गरिएको थियो।
शिविरको पहिलो दिन ७६० जनाले सेवा लिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिए। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेका अनुसार ग्रामीण क्षेत्रका तथा आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएका छन्। भोलि बलेफी गाउँपालिका–४ मा पनि शिविर सञ्चालन गरिने उनले जानकारी दिए।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शिविरमा परीक्षणपछि रोग देखिए प्रदेश सरकारले उपचारमा सहयोग गर्ने बताए। उनले विगतका वर्षझैं यस वर्ष पनि पुराना रोगको उपचारका लागि शिविर आयोजना गरिएको उल्लेख गरे।

जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भए पनि जनशक्ति र उपकरण अभाव रहेको भन्दै मन्त्री थापा मगरले छिमेकी पालिकासँग समन्वय गरेर अघि बढ्न आग्रह गरे। जनशक्ति उत्पादनका लागि पढाइ सुरु गरिएको र व्यवस्थापन गरेर स्थानीय तहमा पठाइने उनको भनाइ छ।
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले “एक जिल्ला एक स्वास्थ्य शहर” र “एक पालिका एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रम अघि बढाइएको जानकारी दिए। साथै ९८ प्रकारका निःशुल्क औषधि नागरिकसम्म सहज रूपमा पुर्याउने प्रयास भइरहेको उनले बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल र अमृता नेपालले शिविर आयोजना गरेकोमा धन्यवाद दिँदै गाउँगाउँमा यस्ता कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाए। उनीहरूले स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र उपकरण उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराए।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख बजगाईले मन्त्रालय र स्थानीय तहको सहयोगमा गाउँगाउँमा शिविर सञ्चालन गरिएको र आवश्यक परे थप उपचारका लागि चौतारा, भक्तपुर र धुलिखेलका अस्पतालमा रिफर गरिने जानकारी दिए।
बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले अस्पतालको भवन भए पनि जनशक्ति र स्रोतको अभाव रहेको भन्दै प्रदेश सरकारसँग सहयोग माग गरे। वडा नं. १ का अध्यक्ष तथा जलविरे प्राथमिक स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष हुपबहादुर खड्काले पनि आवश्यक चिकित्सक, कर्मचारी र उपकरणको अभाव रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्