२०८३ बैशाख ९

चौतारा साँगाचोकगढीका खेलाडीलाई भव्य बिदाइ, राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शनको अपेक्षा

चौतारा  | चौतारा साँगाचोकगढी नगरपालिका द्वारा आगामी वैशाख ९ गतेदेखि मेलम्ची नगरपालिकामा आयोजना हुने १२औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई आज एक कार्यक्रमका बीच पोसाकसहित बिदाइ तथा शुभकामना प्रदान गरिएको छ ।


नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रम नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर प्रमुख सापकोटाले खेलकुदले व्यक्तित्व विकास, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा सहभागी भई नगरको गौरव बढाउन आग्रह गरे । साथै उनले उत्कृष्ट प्रदर्शनमार्फत उज्ज्वल भविष्य निर्माण गर्न खेलाडीहरूलाई सफलताको शुभकामना समेत व्यक्त गरे ।


सोही सन्दर्भमा बोल्दै उपप्रमुख सीता थापाले खेलाडीहरूलाई आफ्नो पहिचान आफैं निर्माण गर्न प्रेरित गर्दै सफलताको निरन्तर मिहेनत र संघर्ष गर्न सुझाव दिइन्।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले स्वास्थ्य र अनुशासन जीवनको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै खेल क्षेत्रले यी दुबै पक्षलाई सँगै अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।


कार्यक्रममा विशेष उपस्थित जनाएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले लुकेर रहेका खेल प्रतिभालाई स्थानीय तहदेखि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुर्‍याउने महत्वपूर्ण माध्यमका रूपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई चित्रण गर्दै खेलसँगै अनुशासन पनि उत्तिकै आवश्यक हुनेमा जोड दिए । उनले कार्यक्रम मार्फत सहभागी सबै पालिकाहरूलाई सफलताको शुभकामना दिए ।


कार्यक्रमको वक्ताहरूले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता युवा खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउने, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने तथा राष्ट्रियस्तरसम्म पुग्ने आधार तयार गर्ने महत्वपूर्ण मञ्च भएको धारणा राखेका थिए ।
चौतारा साँगाचोकगढी नगरपालिका विगतका वर्षहरूमा समेत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शिल्ड जित्न सफल पालिका हो ।

प्रतिक्रिया दिनुहोस्