२०८२ असार ३
                           

प्रदेश अध्यक्षमा आङछिरी, जिल्लामा लन्जम

प्रदेश अध्यक्षमा आङछिरी, जिल्लामा लन्जम

नेपाल शेर्पा संघको ३ नं. प्रदेश अध्यक्षमा युवा नेता आङछिरी शेर्पा सर्वसम्मत चयन भएका छन् । भोटेकोसी वडा नं ४ नारायणथान निवासी शेर्पा किसानका छोरा हुन् ।
विचारमा स्पष्टता र काममा पारदर्शिताको पहिचान बनाएका शेर्पा राजनीतिक फाँटमा पनि उत्तिकै दख्खल राख्छन् । ३४ वर्षीय युवा आङछिरी नेकपा भोटेकोसी गाउँपालिकाका अध्यक्षसमेत हुन् । प्रदेशको अध्यक्ष भएसँगै शेर्पा संघलाई थप सशक्त बनाउने उनले घोषणा गरेका छन् । १३ जिल्लाको शेर्पाहरुको प्रतिनिधित्व गर्दै उनले संघको जिम्मेवारी सम्हालेका हुन् । ‘हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलाई मिहिनेती र इमान्दारीताको नामले चिनिन्छ । म त्यो पहिचानलाई अझ उचो बनाउन लाग्ने छु,’ उनले भने ।
यसैगरी पाँचपोखरी थांपाल गाउँपालिका निवासी लन्जम शेर्पा सिन्धुपाल्चोक शेर्पा संघको अध्यक्षमा चयन भएकी छन् । उनले संघको केन्द्रीय सदस्यसमेत रहेर काम गरिसकेको अनुभव छ । जिल्लाको बाह्र स्थानीय तहमध्ये आठवटामा संघ गठन भइसकेको छ । भोटेकोसीमा आङछिरिङ शेर्पा, बाह्रबिसेमा आङ्दोर्जे शेर्पा, त्रिपुरासुन्दरीमा लाक्पा शेर्पा, मेलम्ची नगरपालिकामा तेन्डी शेर्पा, चौतारामा सोनाम शेर्पा, पाँचपोखरी थांपालमा दावा लामा र इन्द्रावती गाउँपालिकामा फुर्तेम्बा शेर्पा अध्यक्षमा चयन भएका छन् । सबै स्थानीय तहमा १३ सदस्यीय शेर्पा संघ गठन भएको बताइएको छ । संघको केन्द्रीय महाधिवेशन पुस ४ र ५ गते काठमाडौंमा हुँदैछ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नवनिर्वाचित प्रदेश अध्यक्ष आङछिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्