सिन्धुपाल्चोक । भोटेकोशी, रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
समितिका अध्यक्ष सुभाष कर्माचार्यको नेतृत्वमा गएको टोलीले उक्त रकमको चेक सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।
बाढीपहिरोका कारण प्रभावित परिवारको राहत, पुनःस्थापना तथा आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले समितिले उक्त रकम प्रदान गरेको जनाएको छ। प्राकृतिक विपत्तिको समयमा पीडितको साथमा उभिँदै सहयोग जुटाउने अभियानमा आफूहरूले पनि योगदान गरेको अध्यक्ष कर्माचार्यले बताए ।
समितिले उपलब्ध गराएको सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनःस्थापनाका लागि केही भए पनि टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्