२०८१ श्रावण १२
                           

प्रेस सेन्टरको १९औँ स्थापना दिवस, अविचलित रूपमा श्रमजीविको पक्षमा लागिरहने प्रतिबद्धता

१५  माघ

गौरवशाली संगठन प्रेस सेन्टर नेपालको १९औँ स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम गरी देशव्यापी रूपमा भव्यताका साथ मनाइयो । उक्त अवसरमा संगठनका विभिन्न कमिटीहरूले प्रभातफेरी, कोणसभा, रक्तदान लगायतका कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।

संगठनको केन्द्रीय कार्यालयले स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रभातफेरी तथा कोँणसभा गरी मनाएको छ । राजधानीको माइतीघर मण्डलाबाट बबरमहलसम्म आयोजना गरिएको प्रभातफेरीमा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्वसंयोजक गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीलगायत संगठनका नेता तथा सदस्यहरूको उपस्थिति थियो ।

संगठनको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कोँणसभा अध्यक्ष विष्णु सापकोटा ुजुगलु को अध्यक्षतामा र महासचिव सन्तोष पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कोँणसभामा प्रमुख अतिथि तथा संगठन इन्चार्जसमेत रहनुभएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेश्वर दाहालले संगठन स्थापना गर्दाको बेला गरिएको संघर्षको स्मरण गर्नुभएको थियो । संगठनका संस्थापक अध्यक्षसमेत रहनुभएका दाहलले स्थापना कालदेखि नै प्रेस सेन्टरले पछाडि पारिएका वर्ग र श्रमजीवि पत्रकारको मुद्दालाई सदैव प्रमुखताका साथ उठाउँदै आएको बताउनुभयो ।

निकै चुनौतीपूर्ण समयमा संगठन स्थापना भएको उल्लेख गर्नुहुँदै उहाँले एक हातमा वम र एक हातमा कलम लिएर जानुपर्ने अवस्थामा पनि क्रान्तिकारी पत्रकारहरूले शोषित पीडित जनताको मुद्दालाई सदैव प्रधानताका साथ अगाडि बढाएको बताउनुभयो ।

शाहीकालमा मूलधारका भनिएका मिडियाहरू राज्यसत्ताको प्रत्यक्ष नियन्त्रणमा सञ्चालन हुनुपर्ने अवस्थामा क्रान्तिकारी पत्रकारहरूले जनताको आवाज बुलन्द बनाएको दाहालले स्मरण गर्नुभयो । वर्गसंघर्षको रूप फेरिकएको उल्लेख गर्नुहुँदै उहाँले अहिलेको अवस्थामा झन् चनाखो बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । परिवेश र संघर्षको स्वरुप बदलिएको उल्लेख गर्नुहुँदै उहाँले तर, क्रान्तिकारी पत्रकारहरूको लक्ष्य भने नबदलिएको उल्लेख गर्नुभयो । क्रान्तिकारी पत्रकारहरूले जनतासंग जोडिने, आलोचनात्मक र रचनात्मक चेतका साथ जनतातर्फ फर्केर कलम चलाइरहनुपर्ने उहाँको भनाइ छ ।

संगठनका अध्यक्ष विष्णु सापकोटा ुजुगलुले संगठनको १९औँ स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो । कृष्ण सेन ुइच्छुकुलगायत महान शहीद र मिलन नेपालीलगायत बेपत्ता योद्धाहरूले देखाएको बाटोमा आफूहरू अविचलित रूपमा लागिरहने दृढता उहाँले व्यक्त गर्नुभयो । उहाँले माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन हुनुभएका संगठनका उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज त्रिभुवन पौडे र पोखरा महानगर कमिटी सदस्य अनिल शाहीलाई स्मरण गर्नुहुँदै उहाँहरूप्रति सम्मान व्यक्त गर्नुभयो ।

संगठनको वार्षिकोत्सव साधारणसभासहित बृहत् रूपमा मनाउने योजना भए पनि त्रिभुवन पौडेल र अनिल शाहीको दुःखद निधनका कारण त्यसलाई केही समयका लागि स्थगित गरिएको बताउनुभयो । संगठन स्थापना हुँदाको लक्ष्य आफूहरूले नछाडेको उल्लेख गर्नुहुँदै अध्यक्ष जुगलले हिजोको तुलनामा आज अझ भूमिका बढाउनुपर्ने स्थिति आएको बताउनुभयो । बदलिएको परिस्थितिमा पनि शोषित पीडित जनताको पक्षमा निरन्तर उभिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

प्रेस सेन्टरकी उपाध्यक्ष गंगा बराललले स्थापनाको १९ वर्षमै संगठन हस्तक्षेपकारी भूमिकामा पुगेको उल्लेख गर्नुहुँदै आगामी दिनमा थप सक्रिय हुनुपर्ने बताउनुभयो । संगठनका केन्द्रीय महासचिव सन्तोष पौडेलले प्रेस सेन्टरको इतिहासबारे जानकारी गराउनुभएको थियो । सानो संगठनबाट स्थापना भएको संगठन अहिले निकै विशाल भएको उल्लेख गर्नुहुँदै उहाँले सोही अनुसार चुनौती पनि बढेको उल्लेख गर्नुभयो । तर, आफूहरू अविचलित रूपमा आफ्नो लक्ष्यमा अडिग रहने उहाँको भनाइ छ ।

आदिवासी जनजाति पत्रकार संगठन फोनिजका महासचिव मिलन लिम्बूले प्रेस सेन्टरले श्रमजीवीको पक्षमा आफूलाई सतिसाल जस्तै उभ्याइरहेको उल्लेख गर्नुहुँदै धन्यवाद ज्ञापन गर्नुभयो । पत्रकारहरूको मुद्दामा फोनिज पनि प्रेस सेन्टरसँगै रहेको उहाँको भनाइ छ । पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेले प्रेस सेन्टरले छोटो समयमा ठूलो उपलब्धी हासिल गरेको भन्दै यसमा योगदान दिनेहरूलाई बधाई दिनुभयो । श्रमजीवि पत्रकारको समस्या बढेको भन्दै साना लगानीका मिडिया र श्रमजीविको समस्या समाधानमा थप सशक्त बन्न उहाँको आग्रह थियो ।

संगठनको उपत्यका प्रदेश कमिटी अध्यक्ष नवराज दाहालले स्थापनाको १९ औँ वर्षमा संगठन सुदृढ भएको र थप सुदृढ बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । संगठनले उठाएका मुद्दा थप मजबुत बनाउन लागिरहनुपर्ने उहाँको भनाइ छ ।संगठनको एसोसियट प्रदेशका अध्यक्ष रोयल आचार्यले स्थापना दिवसको शुभकामना दिनुहुँदै आगामी दिनमा थप सशक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रतिस्ठान प्रदेशका अध्यक्ष विरेन्द्र ओलीले प्रेस सेन्टर नेपालले श्रमजीवी पत्रकारको पक्षमा मानक स्थापना गरेको उल्लेख गर्नुहुँदै श्रमजीवि पत्रकारको पक्षमा उठाएका मुद्दाहरूलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्